काठमाण्डु – नेकपा एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न भनेका छन् ।
स्रोतका अनुसार पक्राउ पर्नुभन्दा केही दिनअघि पोखरेलले गुण्डु पुगेर ओलीलाई नेतृत्व छाड्न सुझाएका थिए । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी मारिएको घटनामा अनुसन्धान गर्न ओलीलाई चैत १४ गते प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली सर्वोच्चको आदेशमा रिहा भए पनि उपचारका लागि अस्पतालमै छन् ।
एमालेका एक पदाधिकारीका अनुसार पोखरेल ओली नेतृत्वमा पार्टी एकताबद्ध हुन नसक्ने र चुनावी पराजयमार्फत गिरेको पार्टीको साख फिर्ता गर्न कठिन हुने निष्कर्षमा पुगेका छन् । पोखरेलले पार्टी पुनर्गठन गरी निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि सम्मानजनक बहिर्गमनबारे सोच्न आग्रह गरेका थिए ।
‘जेनजी आन्दोलन र निर्वाचन परिणामको पृष्ठभूमिमा पहिलो पुस्ताका नेताहरूप्रतिको समाजको अनाकर्षणले काम गरेको छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै उनले भने, ‘अब तपाईंले छाती फराकिलो गरेर बाटो खुला गर्नु पार्टी र मुलुकको हितमा हुन्छ ।’
तर ओलीले कुनै जवाफ नदिई रिसाएर बसेको ठाउँबाट उठेर हिँडेको ती नेता बताउँछन् । त्यसयता ओली र पोखरेलको सम्बन्ध चिसिएको एमाले नेताहरू नै बताउन थालेका छन् । पोखरेल ओलीलाई बिदा गर्नुपर्ने निष्कर्षमा पुगे पनि अपमानजनक विकल्पमा जान नहुने पक्षमा छन् । आफूसँग महासचिवमा पराजित पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेशकुमार भट्टराई लगायतका नेताले सार्वजनिक रूपमा दिएका ओलीविरोधी अभिव्यक्ति भने सही नभएको पोखरेलले बताउने गरेका छन् । ‘अपमानजनक तरिकाले होइन, अध्यक्षकै सहमतिमा पार्टी पुनर्गठन गर्नुपर्छ । सुरेन्द्रजी र योगेशजीहरूको तरिकाले अघि बढ्दा ओलीले नछाड्ने सम्भावना बढ्छ,’ पोखरेलले पार्टी मुख्यालयमा नेताहरूलाई भन्ने गरेका छन् । पार्टीभित्र प्रभावशाली मानिएका उपाध्यक्ष विष्णु पौडेल समेत ओलीको बहिर्गमन हुनुपर्ने पक्षमा छन् ।
पोखरेलले ओलीको लाइन छाडेको पुष्टि हुने गरी पछिल्लो समय घटनाक्रमको विकास भएका छन् । चैत १९ गते प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यबाहक अध्यक्षसमेत रहेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को ‘उग्र’ अभिव्यक्तिको स्वामित्व लिन पोखरेल तयार भएनन् । जब कि चैत १८ गतेको साँझ त्रिवि शिक्षण अस्पतालमा ओलीलाई भेटेर थापा र अर्का सांसद गुरु बरालले भोलिपल्ट संसद्मा बोल्ने विषयबारे परामर्श गरेका थिए । ओलीकै लाइनअनुसार थापाले संसद्मा रास्वपाको अघोषित नेतृत्वमा भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतसहित निजी व्यापारिक प्रतिष्ठानमा आगजनी गरिएको र त्यसमा प्रधानमन्त्री वालेन्द्र शाह, सुशीला कार्की सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, नेपाली सेना, कर्मचारी प्रशासन र विदेशीहरूको संलग्नता रहेको आरोप लगाएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभूतपूर्व विजयका लागि शुभकामना ! यो ऐतिहासिक विजयको जग खन्ने क्रममा धेरै जना बधाईका हकदार छन् । यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरूले के स्पष्ट गर्छन् भने मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ बादलले भनेका थिए, ‘असंख्य तथ्यहरू छन् । तिब्बतीय ओरिजिन ब्लड (टीओबी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा गोयबल्सहरूले पुराना दल कांग्रेस, एमाले र माओवादीलाई खलनायक बनाउँदै रास्वपाको पक्षमा माहोल बनाए । उनीहरूलाई पनि बधाई ! फागुन २१ को चुनावमार्फत निलो क्रान्तिको संस्थागत विजय भएको छ । भदौ २३ र २४ मा देश जलाउने खलपात्रहरूलाई जसले नायक बनाए, उनीहरूलाई पनि बधाई ! यो जादुमयी परिणामका लागि उनीहरूले नायकको भूमिका खेले ।’
बादलको अभिव्यक्तिप्रति एमालेको ठूलो पंक्तिले आपत्ति जनायो । नेताहरूको दबाबमा चैत २० गते पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले बादलको अभिव्यक्तिको स्वामित्व नलिएको मात्र होइन, अभिव्यक्ति सच्याउने निर्णय लियो ।
बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति एमालेको सम्बन्ध पूर्ववत एवं मित्रवत रहेको भन्दै भविष्यमा समेत ती सम्बन्ध अझ सुदृढ बनाइने प्रतिबद्धता जनायो ।
‘मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकपछि महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनमा अभिव्यक्त जनमतलाई सम्मान गर्दै प्रधानमन्त्री वालेन्द्र शाहसहित विजयी सम्पूर्ण सांसदहरूलाई बधाई ज्ञापन गरेको थियो ।
आफूसँगको परामर्शमा बादलले बोलेका विषय सचिवालयबाट फिर्ता लिन नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली पोखरेलसँग आगो भएको अर्का एक नेताले बताए । उनका अनुसार केही दिनअघि पोखरेल त्रिवि शिक्षण अस्पतालमा भेट्न गएका ओलीले बादलको अभिव्यक्ति फिर्ता लिएकोमा असन्तुष्टि जनाएका थिए । आफूलाई पक्राउ गरिएको विरोधमा नेपाल बन्दसहित संघर्षका कार्यक्रम घोषणा गर्न दिएको निर्देशन पोखरेलले पालना नगरेकोमा पनि ओली असन्तुष्ट छन् । पोखरेलकै असहयोगका कारण भएको न्यून सहभागिताले महेश बस्नेत नेतृत्वमा सुरु भएको आन्दोलन शिथिल भएको दाबी ओलीको छ ।
‘मैले नेपाल बन्दको आयोजना गर्नुस् भन्दा मान्नुभएन । महेश बस्नेतले सुरु गरेको आन्दोलन तपाईंकै कारण सफल हुन सकेन,’ ओलीले पोखरेललाई भनेका थिए ।
ओली हिरासतमा रहँदासम्म विकल्प खोज्न नहुने सोचमा रहेका पोखरेल उनी रिहा भएसँगै पार्टी पुनर्गठन र पुनर्निर्माणको बहस थाल्नुपर्ने निष्कर्षमा पुगेका उनीनिकट सचिवालय सदस्यले बताए । पोखरेलले साथ छाडेको अवस्थामा ओली नेतृत्वमा टिकिरहन सहज नभएको उनको भनाइ छ ।




प्रतिक्रिया