काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ ।
नयाँ वर्षको पहिलो दिन मंगलबार नेपाली कांग्रेसको ‘एक महिने जरा अभियान’ पार्टीका सभापति गगनकुमार थापाले काठमाण्डु महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।
क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुन:संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’को रूपमा घोषणा गरेको छ ।
संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैं जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । सभापति थापाले भने, ‘जरा अभियान हाम्रो उत्साह र विश्वासको नयाँ अभियान हो । अभियानअन्तर्गत हामीले राष्ट्रियतालाई सबल बनाउनका निम्ति संविधानले दिएको क्षेत्राधिकार भित्र रहेर संसदभित्र रहेका सबै दलहरूसँग सहकार्य गर्छौं । खासगरी नेपाल सरकारसँग सहकार्य गर्छौं । डेमोक्रेसीको जरा सबल बनाउनको निम्ति संसद्भित्र प्रमुख प्रतिपक्षको आफ्नो भूमिका सशक्त र जिम्मेवार भएर निर्वाह गर्छौं ।’
‘यो अभियान भनेको पार्टीको जरा बलियो बनाउने हो । जरा बलियो बनाउन वर्षभर काम गर्नुपर्नेछ । महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिसकेका छौँ । आजबाट नेपाली कांग्रेसको सदस्यता सम्बन्धी नयाँ अभियान सुरु भएको छ । यो सन्दर्भमा साथीहरूमा अलमल भएको हो कि भन्ने मलाई लागेको छ । अब अलमल मान्नु पर्दैन,’ उनले स्पष्ट पारे ।
पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
सभापति थापाले शेरबहादुर देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् । ‘पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन,’ उनले भने ।
सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् ।




प्रतिक्रिया