१३ घण्टा छापा मारेपछि दीपक भट्टको घर सिल, १० वटा विलासी गाडी नियन्त्रणमा

१३ घण्टा छापा मारेपछि दीपक भट्टको घर सिल, १० वटा विलासी गाडी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लामो समयदेखि सत्ता र शक्तिको आडमा नीतिगत भ्रष्टाचार र सेटिङको जालो फैलाउँदै आएका विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टको ‘साम्राज्य’ माथि राज्यले अपरेसन सुरु गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागले मंगलबार भट्टको घर र कार्यालयमा १३ घण्टा खोजतलास गरेको हो । मंगलबार बिहानैबाट विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा भट्टसहित उनका सहयोगी उपेन्द्र हिरावतको घरमा समेत छापा मारेको छ ।

खोजतलासपछि भट्टको घर र कार्यालय दुवै सिल गरिएको छ। बिहानैदेखि चलेको छापा मार्ने क्रम राति अबेरसम्म चलेको थियो।

विभागले भट्टको निवासबाट झन्डै १० वटा महंगा विलासी गाडीहरू नियन्त्रणमा लिएको स्रोतले बताएको छ। जसमा रेञ्जर रोभर, ल्यान्ड क्रुजर, बीएमडब्लु, टेस्ला र बीवाइडी जस्ता ब्रान्डका सवारी साधन छन्।

यस्तै भट्टको कार्यालय र निवासबाट आधा दर्जन मोबाइल फोन, ल्यापटप, महत्त्वपूर्ण कागजातहरू र सिसिटिभी सर्भर समेत बरामद गरेको छ। ती उपकरण र कागजातमा ठुला राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीसँगको अस्वाभाविक आर्थिक लेनदेनको प्रमाण हुनसक्ने विभागको अनुमान छ।

गत चैत १९ गते पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाण्डुले थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।

नेपालको वित्तीय स्रोत सुलभ अग्रवालका नाममा राख्ने र सिंगापुर, हङकङ तथा दुबई जस्ता देशमा हुने अवैध धन भट्टको नाममा रहने गरेको सूचनाका आधारमा यो कारबाही अघि बढाइएको हो।

भट्टको हिमालयन पुनर्बीमा कम्पनीको कारोबार शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनलाई निशानामा राखेको थियो । राष्ट्र बैंकले पनि त्यतिबेला नै उनको खातामा कारोबार भएको ४५ करोड रुपैयाँलाई शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण विभागमा पत्र पठाउँदै भट्टमाथि अनुसन्धान गर्न भनेको थियो । त्यही पत्रका आधारमा विभागले अनुसन्धान गरेको हाे ।

भट्टसँगै जगदम्बा स्टिलका मालिक शंकर र उनका छोरा सुलभ अग्रवालपनि पक्राउ परेका थिए ।आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया पूरा भएपछि शंकरलाई छोडिएको थियो भने सुलभलाई १० दिन हिरासतमा राख्ने अनुमति दिइएको थियो ।