काठमाण्डु – ४४ वर्षौँको धैर्य, तीन सिटबाट सुरु भएर ८९ सीटसम्मको ठूलो शक्तिसम्मको यात्रा, संयमको एकपछि अर्को परीक्षा तथा लगातार सहनुपरेका राजनीतिक यात्रा । लामो धैर्य र प्रतीक्षापछि अन्ततः भारतीय जनता पार्टी (बीजेपी) ले बिहारमा आफ्नो पहिलो मुख्यमन्त्री पाएको छ ।
नीतिश कुमारको २१ वर्षे लामो शासनपछि, सोमबार सम्राट चौधरीले बिहारका नयाँ तथा बीजेपीका पहिलो मुख्यमन्त्रीका रूपमा शपथ लिए । यो क्षण धेरै हिसाबले ऐतिहासिक रह्यो ।
नीतिश कुमार राष्ट्रिय राजनीतितर्फ अघि बढ्दै गर्दा सम्राट चौधरीले खाली भएको कुर्सी सम्हाल्दै नयाँ राजनीतिक युगको सुरुवात गरे–जसको प्रतीक्षा बीजेपीले दशकौँदेखि गरिरहेको थियो ।
जो बीजेपीको राजनीतिलाई नजिकबाट नियालिरहेका छन्, उनीहरूलाई थाहा छ कि बिहार बीजेपीका लागि कति महत्वपूर्ण राज्य हो । गठबन्धनमा बढी सिट जित्दा पनि आफ्नै मुख्यमन्त्री बनाउन नसक्ने अवस्था सायद कुनै अन्य राज्यमा यति लामो समयसम्म देखिएको थिएन ।
उत्तर प्रदेशजस्ता राज्यमा बीजेपीको आफ्नै सरकार र मुख्यमन्त्री छन् । तर बिहारमा भने वर्षौँसम्म सत्ता साझेदारी गर्दै पनि पार्टी आफ्नै नेतृत्व स्थापित गर्न सफल हुन सकेको थिएन ।
यस सन्दर्भमा अहिलेको उपलब्धि ठूलो अवसर हो तर यसको पछाडि दशकौँको मेहनत, रणनीति र धैर्यको कथा लुकेको छ ।
बीजेपीका एक वरिष्ठ नेताका अनुसार आजको उपलब्धि पार्टीका पुराना नेताहरूको पुस्तौँसम्मको मेहनतको परिणाम हो यो ।
कैलाशपति मिश्र, केएन गोविन्दाचार्य, सुशील मोदीजस्ता नेताहरूले बिहारमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले ।
मिश्रले गाउँ–गाउँ पुगेर संगठन खडा गरे, गोविन्दाचार्यले रणनीतिक सोच विकास गरे भने मोदीले नयाँ सामाजिक समूह र पिछडिएका वर्गसम्म पार्टीलाई विस्तार गरे । उनीहरूको प्रयासले आजको सफलता सम्भव भएको हो ।
बिहारको राजनीति मुख्यतः तीन चरणबाट गुज्रिएको छ । पहिलो कांग्रेस प्रभुत्वको समय जहाँ कांग्रेसको एकदलीय प्रभाव र वर्चस्व थियो । दोस्रो गैरकांग्रेसी शक्तिको उदय । जनसंघ (पछि बीजेपी) लगायत अन्य शक्तिहरूले स्थान बनाउन थाले । र तेस्रो मण्डल र सामाजिक न्यायको राजनीति ।
लालु प्रसाद यादवको नेतृत्वमा जातीय र सामाजिक न्याय केन्द्रित राजनीति हावी भयो । त्यसपछि नीतिश कुमारको नेतृत्वमा गठबन्धन राजनीति स्थापित भयो, जहाँ बीजेपी बलियो साझेदारका रूपमा उभियो र विस्तार हुँदै गयो ।
सम्राट चौधरीको नेतृत्वलाई लिएर पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको छ । सुशील मोदीपछि नेतृत्वमा खालीपन थियो र सम्राट चौधरी आरजेडी, जेडीयू हुँदै बीजेपीमा आएका नेता हुन् । यसकारण केही नेताहरू असहज देखिएका छन ।
पत्रकारहरूका अनुसार बिहारमा बीजेपीका लागि सबैलाई स्वीकार्य नेता चयन गर्नु सजिलो थिएन। अन्ततः सम्राट चौधरीको नाममा सहमति भयो ।
बीजेपीका लागि आफ्नै मुख्यमन्त्री हुनु ठूलो उपलब्धि हो, तर चुनौतीहरू अझै बाँकी छन.् । पार्टी अझै गठबन्धनमा निर्भर छ भने चुनावी राजनीति अहिलेसम्म नीतिश कुमारको अनुहारमा केन्द्रित थियो तर अब आफ्नै नेतृत्वमा जनमत जित्नुपर्नेछ । त्यसैले आगामी पाँच वर्षमा सबैभन्दा ठूलो प्रश्न यही हुनेछ–के बीजेपीले आफ्नै नेतृत्वमा बिहारका मतदाताको विश्वास कायम राख्न सक्छ ?
यसको उत्तरले बिहार मात्र होइन, भारतको समग्र राजनीतिक दिशालाई पनि प्रभावित गर्नेछ ।




प्रतिक्रिया