काठमाण्डु– सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहँदा गैरकानुनी रूपमा सेयर बिक्री गरेको पाइएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको अनुसन्धानमा अग्रवालले अवैध तरिकाले सेयर बिक्री गरेको निष्कर्ष निकालेको हो।
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष भएको समयमा आफ्नै नाममा रहेको सेयर बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै उनले घुमाउरो बाटो अपनाएर बिक्री गरेको अनुसन्धानबाट खुलेको छ।
अध्यक्ष रहेकै अवस्थामा आफ्नो नाममा रहेको सेयर परिवार वा आफ्नै कम्पनीलाई बिक्री गर्न नपाइने भए पनि अग्रवालले अंशबण्डाको मुद्दा दर्ता गराई त्यसमार्फत मिलापत्र गरेका थिए। सोही मिलापत्र आदेशका आधारमा उनले आफ्नो छोरा कृषिव अग्रवालको नाममा ८ लाख ३ हजार ३१ कित्ता सेयर हस्तान्तरण गरेका थिए।
उक्त सेयर कृषिवले २०८२ साल साउन ८ गतेदेखि २२ गतेसम्म बिक्री गरेका थिए। सो बिक्रीबाट उनको खातामा ३२ करोड ८३ लाख रुपैयाँ जम्मा भएको थियो।
एकातिर अंशबण्डाको मुद्दा दायर गरी काठमाडौँ जिल्ला अदालतबाट सेयर छोराको नाममा हस्तान्तरण गराउने, अर्कोतिर सो सेयर कारोबारसँग सम्बन्धित पहिचान नम्बरको इमेल र फोन नम्बर सुलभकै रहेको अनुसन्धानबाट खुलेको छ।
यो पनि पढ्नुहोस-
त्यसैगरी, बिक्रीपछि कृषिवको नाममा आएको ३२ करोडमध्ये २३ करोड रुपैयाँ सुलभकै खातामा स्थानान्तरण भएको पनि पाइएको छ। यी सबै तथ्यका आधारमा अंशबण्डा लगायतका गतिविधि कानून छल्ने उद्देश्यले गरिएको जालसाजी भएको बोर्डको निष्कर्ष छ।
बोर्डका अनुसार अग्रवालले धितोपत्र ऐनको दफा ९८ विपरीत काम गरेका छन्। उक्त दफामा कसैलाई झुक्याउने उद्देश्यले कुनै योजना, प्रविधि वा कार्य गरे/गराएमा वा ठगीजन्य क्रियाकलापमा संलग्न भएमा सजायको व्यवस्था गरिएको छ।
यस प्रकारको कसुरमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

यस्तो छ पूर्ण प्रतिवेदन–




प्रतिक्रिया