काठमाण्डु – नेपालका प्रधानमन्त्री बालेन शाह निकट भविष्यमा भारतको औपचारिक भ्रमणमा जाने चर्चा चलिरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा बालेनको भारत भ्रमणको तयारी दुवै देशले गरिरहेका छन् । यद्यपि भ्रमणको मिति अझै तय भएको छैन, तर एजेन्डाबारे आन्तरिक तयारी भने सुरु भइसकेको छ ।
मोदीले बालेन प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै बधाई दिँदै नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । सोही क्रममा उनले बालेनलाई भारत भ्रमणको निम्तो पनि दिएका थिए ।
यो निमन्त्रणाको खुलासा हालै मौरिसस भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए । उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै अनुकूल समयमा भ्रमण हुने बताएका थिए ।
यदि यो भ्रमण हुन्छ भने, पदभार सम्हालेपछि दुई नेताबीचको यो पहिलो उच्चस्तरीय भेट हुनेछ । यसअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जुन २०२३ मा भारत भ्रमण गरेका थिए ।
सम्बन्ध : गहिरो तर तनावपूर्ण
भारत र नेपालबीचको सम्बन्धलाई प्रायः ‘रोटी–बेटीको सम्बन्ध’ भनिन्छ । यो सम्बन्ध कूटनीतिकभन्दा धेरै गहिरो सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित छ ।
तर पछिल्ला वर्षहरूमा सम्बन्धमा केही तनाव देखिएको छ । विज्ञहरूका अनुसार मोदीको निम्तोलाई नयाँ सुरुवातको संकेतका रूपमा पनि हेरिएको छ ।
भारतका अन्तर्राष्ट्रिय मामिला विज्ञ मोहसिन रजा खानका अनुसार चीनले नेपालमा प्रभाव बढाउन सक्रिय प्रतिस्पर्धा गरिरहेको छ । माल्दिभ्स, बंगलादेश र पाकिस्तानजस्ता देशहरूको झुकाव चीनतर्फ बढ्दै जाँदा भारतका लागि नेपालको महत्व अझ बढेको उनको भनाइ छ ।
‘नेपालका नागरिकहरू भारतमा स्वतन्त्र रूपमा यात्रा, काम र बसोबास गर्न सक्छन्, जसले सम्बन्धलाई सामान्य कूटनीतिक सम्बन्धभन्दा धेरै नजिक बनाएको छ’, खान भन्छन् ।
नेपाल र भारतबीच खुला सिमाना, श्रम आवागमन, सांस्कृतिक निकटता र धार्मिक सम्बन्ध जस्तै पशुपतिनाथ मन्दिर, लुम्बिनी, वाराणसीले सम्बन्धलाई विशेष बनाउँछ ।
सम्बन्ध किन बिग्रियो ?
विज्ञहरूका अनुसार पाँच मुख्य कारण छन् ।
पहिलो नाकाबन्दी र विश्वासको संकट–केपी शर्मा ओलीको कार्यकालमा नाकाबन्दीका कारण नेपालमा इन्धन र अत्यावश्यक सामग्रीको अभाव भयो । यसले भारतविरुद्ध ठूलो असन्तोष पैदा गर्यो ।
दोस्रो नेपालको राजनीतिक अस्थिरता–नेपालमा सरकार बारम्बार परिवर्तन हुँदा नीति निरन्तरता कमजोर भयो ।
तेस्रो कालापानी–लिपुलेक विवाद–भारतले लिपुलेक सडक उद्घाटन गरेपछि दुवै देशबीच विवाद चर्कियो । नेपालले सुगौली सन्धि अनुसार आफ्नो दाबी गर्दै नयाँ नक्सा जारी गर्यो, जुन भारतले अस्वीकार गर्यो ।
चीनको प्रभाव–नेपालले चीनसँग पूर्वाधार र व्यापार सम्झौता बढायो, जसले भारतमाथिको निर्भरता घटायो । ‘बालेन शाह जेन जी पुस्ताका नेता हुन्, जसले स्वतन्त्र र सन्तुलित विदेश नीति चाहन्छन्’, मोहसिन रजा भन्छन् । रजाले भन, ‘उनीहरू भारतलाई ‘ठूलो दाइ’ होइन, बराबरीको साझेदारको रूपमा हेर्न चाहन्छन् ।’
भ्रमणबाट के अपेक्षा ?
कुनै पनि नयाँ नेताको पहिलो विदेश भ्रमणले उसको प्राथमिकता देखाउँछ । विज्ञ राजन कुमारका अनुसार भारतलाई पहिलो प्रमुख गन्तव्य बनाउनु नेपाल–भारत सम्बन्ध अझै पनि केन्द्रमा रहेको संकेत हो । उदाहरणका रूपमा उनले श्रीलंकाको राजपाक्षे परिवार र माल्दिभ्सका मोहम्मद मुइज्जुको विदेश नीतिको उदाहरण दिए ।
उनका अनुसार नेपालले राष्ट्रवाद र क्षेत्रीय यथार्थबीच सन्तुलन कायम गर्न आवश्यक छ, अन्यथा अनावश्यक तनाव बढ्न सक्छ ।
‘यस्ता दाबीहरू प्रायः घरेलु समर्थन जुटाउन प्रयोग गरिन्छन् तर नेपालका नयाँ नेतृत्वले राष्ट्रवादलाई क्षेत्रीय वास्तविकतासँग सन्तुलनमा राख्नुपर्छ र अनावश्यक तनाव सिर्जना गर्नबाट जोगिनुपर्छ’, उनले भने ।




प्रतिक्रिया