काठमाण्डु – संघ सरकारले बैशाख २१ गतेदेखि विद्यालयमा पठनपाठन गर्न निर्देशन दिएका बेला काठमाण्डु महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले बिहीबार सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयहरूलाई वैशाख १५ गतेदेखि नै शैक्षिक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको हो ।
महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य समितिको मिति २०८३ वैशाख १० गते बसेको बैठकले पठनपाठनबारे निर्णय गरेको छ ।
नयाँ शैक्षिक सत्रको सुरुवात र विद्यालय सञ्चालनका सम्बन्धमा नेपाल सरकारको निर्णय, काठमाण्डु उपत्यका मेयर्स फोरमको अनुरोध र व्यावहारिक पक्षलाई विश्लेषण गरी मिति तय गरिएको महानगरले जनाएको छ ।
शिक्षा विभागका विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा भनिएको छ, ‘शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिको तयारीको समग्र विश्लेषण गर्दा सरोकारवालाहरूमा पर्न गएको द्विविधा निवारण गर्न आवश्यक देखिएकाले शैक्षिक सत्र २०८३ को पठनपाठन लगायतका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू आगामी २०८३ वैशाख १५ गतेदेखि सुरु गर्न/गराउन यो सूचना जारी गरिएको छ ।’




प्रतिक्रिया