काठमाण्डु – फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनेको अर्थ लाग्ने टिप्पणी गरेपछि उत्पन्न विवादमा औपचारिक रूपमा माफी मागेका छन्।
उनको टिप्पणीलाई लिएर तीव्र आलोचना भएपछि कम्तीमा तीन चिनियाँ कम्पनीले उनीसँगको व्यावसायिक साझेदारी अन्त्य गरेका छन्। त्यस्तै, चिनियाँ सरकारी सञ्चार समूहले स्पेनिस फुटबल लिग ला लिगाका खेलको प्रसारण पनि स्थगित गरेको छ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार एम्बाप्पेले मंगलबार सार्वजनिक गरेको वक्तव्यमा आफ्नो टिप्पणी गलत भएको स्वीकार गरेका छन्।
‘मेरो टिप्पणी सोचविचार नगरी गरिएको थियो। यसले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसलाई चोट पुर्याएको मैले अहिले बुझेको छु,’ उनले भनेका छन्।
उनले आफ्नो अभिव्यक्तिबाट दुःखी भएका सबैसँग माफी माग्दै चिनियाँ जनता र उनीहरूको इतिहासप्रति आफूले गहिरो सम्मान राख्ने बताएका छन्।
ुमेरो शब्दले कसैलाई दुःखी बनाउने उद्देश्य थिएन। म यसका लागि हृदयदेखि माफी चाहन्छु,ु उनको वक्तव्यमा भनिएको छ।
कसरी सुरु भयो विवाद ?
विवाद एम्बाप्पेको एउटा अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि सुरु भएको हो। फ्रान्सेली अनलाइन टक शो ‘द ब्रिज’ मा सहभागी हुनुअघि गरिएको अन्तर्वार्ताको उक्त भिडियो सामाजिक सञ्जाल एक्समा फैलिएको थियो।
भिडियोमा एम्बाप्पेलाई आफूलाई देखाइएको मनपर्ने मिमबारे सोधिएको थियो। जवाफमा उनले आफूजस्तै देखिने एक व्यक्तिको भिडियो मन पर्ने बताउँदै ती व्यक्ति ‘चिनियाँ तानाशाह’ भएको आफूलाई लागेको बताएका थिए। त्यसपछि भिडियोमा माओत्सेतुङको शरीरमा एम्बाप्पेको अनुहार राखिएको सम्पादित तस्बिर देखाइएको थियो।
फुटबल समर्थकहरूले एम्बाप्पेलाई मैदानमा आफ्नो प्रभाव जमाउने खेलाडीका रूपमा व्यंग्य गर्दै उनलाई तानाशाहका रूपमा चित्रण गरिएका मिम बनाउने गरेका छन्। माओत्सेतुङको शरीरमा एम्बाप्पेको अनुहार राखिएका तस्बिर पनि सामाजिक सञ्जालमा प्रचलित छन्।
तर, चीनमा माओत्सेतुङलाई आधुनिक चीनका संस्थापक नेताका रूपमा सम्मान गर्ने ठूलो जनसमुदाय रहेकाले उक्त टिप्पणीले व्यापक विवाद निम्त्याएको हो।
माओले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै गृहयुद्धमा राष्ट्रवादी दललाई पराजित गरेका थिए। सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेका थिए।
उनको शासनकालमा भएका राजनीतिक अभियान र नीतिहरू भने विवादित छन्। विशेषगरी ‘ग्रेट लिप फर्वार्ड’ अभियानका क्रममा परेको भीषण अनिकालमा करोडौँ मानिसको मृत्यु भएको अनुमान गरिन्छ।

तीन कम्पनीले तोडे साझेदारी
एम्बाप्पेको टिप्पणी सार्वजनिक भएपछि चिनियाँ पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध उत्पादन कम्पनी मेङनिउ र चिज उत्पादक मिल्कग्राउन्डले उनीसँगको व्यावसायिक साझेदारी अन्त्य गर्ने घोषणा गरेका छन्।
ती कम्पनीले मंगलबार जारी गरेका वक्तव्यमा राष्ट्रिय भावनामा चोट पुर्याउने अभिव्यक्ति र व्यवहारको विरोध गर्ने उल्लेख गरेका छन्। यद्यपि, उनीहरूले साझेदारी अन्त्य गर्नुको ठ्याक्कै कारण छुट्टै खुलाएका छैनन्।
एम्बाप्पेको अनुहार चीनका विभिन्न विज्ञापनमा देखिँदै आएको थियो। उनले पेय पदार्थदेखि दूध र चिजसम्मका उत्पादनको प्रचार गरेका थिए।
डोङपेङको विज्ञापनमा उनले चिनियाँ भाषामा नारा बोलेका थिए भने मेङनिउको विज्ञापनमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीसँग पनि देखिएका थिए।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एम्बाप्पेसँग साझेदारी अन्त्य गरेका कम्पनीसम्बन्धी ह्यासट्यागहरू चर्चामा आएका छन्। केही प्रयोगकर्ताले उनको टिप्पणीको आलोचना गर्दै चीन नआउनसमेत भनेका छन्।
चीनको फुटबल संघले रियल म्याड्रिडसँग माग्यो स्पष्टीकरण
चिनियाँ फुटबल संघले मंगलबार विज्ञप्ति जारी गर्दै एम्बाप्पेको टिप्पणीप्रति कडा विरोध जनाएको छ। संघले स्पेनिस क्लब रियल म्याड्रिडलाई पनि यस विषयमा ध्यान दिन आग्रह गर्दै खेलाडी र क्लब दुवैले सार्वजनिक रूपमा औपचारिक माफी माग्नुपर्ने माग गरेको छ।
चिनियाँ सरकारी सञ्चार समूह चाइना मिडिया ग्रुपले एम्बाप्पे सहभागी खेलका प्रसारण स्थगित गर्नुका साथै उनी देखिएका विज्ञापन सामग्री हटाएको जनाएको छ। समूहले एम्बाप्पे र रियल म्याड्रिड दुवैबाट माफीको माग गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले चिनियाँ जनताको भावनामा चोट पुर्याउने अभिव्यक्ति र व्यवहारले चिनियाँ समाजका विभिन्न क्षेत्रबाट स्वाभाविक रूपमा विरोध सामना गर्ने बताएका छन्।
चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एम्बाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने जनाएको छ। उक्त प्लेटफर्मले उनीसँगको सामग्री साझेदारी सन् २०२४ डिसेम्बर ३१ मै समाप्त भएको स्पष्ट पारेको छ।
मंगलबार एम्बाप्पेको खातामा नयाँ फलोअर थप्नसमेत प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ।
ला लिगाको प्रसारण स्थगित
चिनियाँ सरकारी सञ्चार समूहले स्पेनिस ला लिगाका खेलको प्रसारण स्थगित गर्ने घोषणा गरेपछि विवादको असर फुटबल प्रसारणमा समेत परेको छ। एम्बाप्पे र रियल म्याड्रिडसँग सम्बन्धित खेल तथा सामग्रीमाथि पनि रोक लगाइएको बताइएको छ।
ला लिगाले भने चिनियाँ समर्थकको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गरेको छ। एम्बाप्पेको टिप्पणी व्यक्तिगत रूपमा गरिएको र त्यसले ला लिगाको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने लिगले स्पष्ट पारेको छ।
भविष्यमा यस्ता विवादबाट बच्न खेलाडी र क्लबका लागि सञ्चारसम्बन्धी कार्यविधि तयार पार्ने तथा चीनका सरोकारवालासँग सहकार्य गर्ने पनि ला लिगाले जनाएको छ।
चीनले आफ्नो राजनीतिक संवेदनशीलतासँग जोडिएका विषयमा विदेशी कम्पनी, खेलाडी र संस्थाहरूबाट सार्वजनिक प्रतिक्रिया मागेको यो पहिलो घटना भने होइन।
सन् २०१९ मा हङकङका सरकारविरोधी प्रदर्शनकारीको समर्थनमा तत्कालीन ह्युस्टन रकेट्सका महाप्रबन्धक ड्यारिल मोरेले सामाजिक सञ्जालमा टिप्पणी गरेपछि चिनियाँ सरकारी टेलिभिजनले अमेरिकी बास्केटबल लिग एनबीएका खेल प्रसारण बन्द गरेको थियो।
एम्बाप्पे प्रकरणले पनि चीनको विशाल बजारमा व्यावसायिक साझेदारी कायम राख्न चाहने अन्तर्राष्ट्रिय खेलाडी र संस्थाले राजनीतिक तथा सांस्कृतिक संवेदनशीलतालाई कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न फेरि उठाएको छ।


प्रतिक्रिया