नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव अघि सारेको छ। अमेरिकाले फरेन मिलिटरी फाइनान्सिङ (एफएमएफ) अनुदानमार्फत करिब १०० मिलियन डलर बराबरको सहयोग अन्तर्गत हेलिकोप्टर उपलब्ध गराउने तयारी गरेको हो।

उक्त प्रस्तावबारे दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपाली सेनाबीच छलफल भइरहेको छ। तर, सेनाले सहयोग स्वीकार गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक प्रतिक्रिया नदिँदा प्रक्रिया केही ढिलाइ भएको स्रोतले जनाएको छ।

सैनिक स्रोतका अनुसार काठमाण्डुस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन सेनाका अधिकारीहरूलाई आग्रह गरिरहेको छ। हेलिकोप्टर सञ्चालनका लागि आवश्यक हवाई इन्धन, तालिम तथा मर्मतसम्भार खर्च महँगो पर्ने भएकाले सेनाभित्रै यसबारे परामर्श भइरहेको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले २०८१ सालमा १०० मिलियन डलरको एफएमएफ अनुदानसम्बन्धी सम्झौता भएको जानकारी भए पनि ६ वटा हेलिकोप्टर सहयोगबारे आफूलाई औपचारिक जानकारी नभएको बताए।

यता, रक्षामन्त्रालयका एक अधिकारीले भने अमेरिकी दूतावासबाट यस विषयमा पटक–पटक ताकेता आइरहेको जानकारी दिएका छन्।

यसअघि नेपाली सेनाका लागि २ वटा हेलिकोप्टर सहयोग गर्ने सम्झौता भइसकेको छ, जसअन्तर्गत ती हेलिकोप्टरहरू आगामी वर्ष नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। तत्कालीन अमेरिकी उप–विदेशमन्त्री रिचर्ड बर्माको नेपाल भ्रमणका क्रममा उक्त सहयोग घोषणा गरिएको थियो।

यसअघि पनि अमेरिकाले गत सेप्टेम्बर ४ मा नेपाली सेनालाई दुई वटा एम–२८ स्काइ ट्रक विमान हस्तान्तरण गरिसकेको छ। ती विमानहरूले नेपालको हवाई क्षमता अभिवृद्धि गर्नका साथै मानवीय सहायता, विपद् व्यवस्थापन, सुरक्षा तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।