भूकम्पीय जोखिममा पश्चिम नेपाल, ३ वर्षमा ४ हजार २५० बढी धक्का

भूकम्पीय जोखिममा पश्चिम नेपाल, ३ वर्षमा ४ हजार २५० बढी धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरूले समय–समयमा बताउँदै आएका छन् ।

पश्चिम नेपालको भौगोलिक बनावट, लामो समयदेखि ठूलो भूकम्प नगएको अवस्था र यहाँको भौतिक संरचनाको कारण पनि पश्चिम नेपाललाई भूकम्पको उच्च जोखिममा रहेको मान्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । पटक–पटक आउने भूइँचालोका कारण पश्चिम नेपालमा मानवीय र भौतिक क्षति व्यहोर्नु परिरहेको छ ।

भूकम्पको क्षति न्यूनीकरणका लागि विभिन्न समयमा विज्ञहरूले सुझाव दिएका छन् तर ती सुझावहरू पालनाका लागि सरकारी र गैरसरकारी प्रयासहरू पर्याप्त छैनन् । पछिल्ला वर्षहरूमा पश्चिम नेपालमा साना तथा मध्यमस्तरका भूकम्पहरू बारम्बार आइरहेका छन् । यी कम्पनहरूलाई विज्ञहरूले चेतावनी संकेतका रूपमा हेर्ने गरेका छन् । यद्यपि यस्ता घटनाले केही समयका लागि त्रास त सिर्जना गर्छन् तर दीर्घकालीन तयारीमा भने खासै प्रभाव देखिँदैन ।

३ वर्षमा ४२५० पटक बढी भूकम्प

पछिल्लो ३ वर्षका पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर ४ हजार २५० पटक भूकम्प गएको मापन केन्द्र सुर्खेतको तथ्यांक छ । यो अवधिमा गएका भूकम्पमध्ये २०७८ कात्तिक २२ गते डोटी, २०८० असोज १६ गते बझाङ र २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएको गएको भुकम्प ठूला भूकम्प मध्येमा पर्छन् ।

डोटीमा ६.६ बझाङमा ६.३ र जाजरकोटमा ६.४ म्याग्निच्यूटको भूकम्प गएर मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । यो अवधिमा पश्चिम नेपालमा सबैभन्दा धेरै ४ हजार १५० पटकभन्दा बढी साना भूकम्प गएका छन् । त्यसैले खासै क्षति नपुर्‍याए पनि ठूलो खतराको संकेत गरेको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमूख चिन्तन तिमिल्सिना बताउँछन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक २२ गते गएको ६.६ रेक्टर स्केलको डोटी भूकम्पले पनि ६ जनाको ज्यान लिएको थियो । २०८० असोज १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टरको भूकम्पका कारण ठूलो भौतिक क्षति भएको थियो । त्यतिबेला १ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले समेत ठूलो जनधनको क्षति गरेको थियो । १५४ जनाको ज्यान लिने गरी आएको भूकम्पले ठूलो भौतिक क्षति समेत भयो ।

पश्चिम नेपालमा सबैभन्दा बढी भूकम्प जाने जिल्लामा बझाङ रहेको छ । यो अवधीमा कर्णालीका जुम्ला, हुम्ला, मुगु र जाजरकोट जिल्लामा भूकम्पको केन्द्रबिन्दु रहेको छ भने सुदूरपश्चिमका ६ जिल्लामा प्रभाव परेको छ । यहाँ २०७९ सालयता १ हजार २३८ पटक भूकम्प मापन गरिएको छ । यो अवधिमा जाजरकोटमा ५१२, बाजुरा ५०४, डोटी ४००, अछाममा ३११, दार्चुलामा २२४, हुम्लामा १६१, मुगुमा १५१, जुम्लामा १२३ र बैतडीमा ८० पटक भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख तिमिल्सैनाका अनुसार ४ म्याग्निच्युडभन्दा कम क्षमताका भूकम्प अत्यधिक रहेको छ । ३ वर्षमा कर्णाली र सदूरपश्चिममा ४ म्याग्निच्युडभन्दा कमको भूकम्प ४ हजार १५० पटकभन्दा बढी गएको छ । पछिल्लो ३ वर्षमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा ६–७ म्याग्निच्युडको भूकम्प ३ पटक, ५–६ म्याग्निच्युडकोे १६ पटक र ४–५ म्याग्निच्युडको ८१ पटक भूकम्प गएको छ । ठूला भूकम्प गएको जिल्लाहरूमा पनि बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएको देखिन्छ ।

पश्चिम नेपालको भू–सतहमुनि ५२० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको हुँदा पश्चिम नेपालमा केन्द्रबिन्दु भएर ८ वा त्योभन्दा बढी म्याग्निच्यूडको भूकम्प जानसक्ने खतरा रहेको विज्ञहरूले बताउँदै आएका छन् । ५२० वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको र हिमालय क्षेत्रको अध्ययनले ५००–७०० वर्षको अवधिमा पहिले गएकै स्थानमा भूकम्प जाने सम्भावना अत्यधिक रहेकाले पनि पश्चिम क्षेत्र जोखिममा रहेको तिमिल्सिनाले बताए । ‘८ म्याग्निच्युडभन्दा माथिको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ,’ उनले भने, ‘भूकम्पको मानभन्दा पनि त्यसले पुर्‍याउने क्षतिले भूकम्पको ठूलो सानो भन्न मिल्छ ।’

भूकम्पविद् तिमिल्सिनाका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । २ प्लेटबिचको घर्षणका कारण नेपाल सधैँ भूकम्प जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्न जान्छ । यस्तो भूकम्प नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला महाभूकम्प जाने खतरा हुन्छ । ‘१ रेक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ । त्यसको अर्थ ५ रेक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ । ६ रेक्टर स्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ,’ उनले भने, ‘त्यहीँ हिसाबले ५ सँग तुलना गर्दा ७ म्याग्निच्यूडका लागि १ हजार गुणा बढी शक्ति चाहिन्छ । ७ को ३२ वटा भूकम्प गइदियो भने ८ रेक्टरको भूकम्प टर्न सक्छ । ६ को मात्रै जाने हो भने १ हजारवटा भूकम्प जानुपर्ने हुन्छ ।’

भूकम्पलाई रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षतिलाई कम गर्न पूर्व तयारी गर्नुपर्ने उनको सुझाव छ । ‘भूकम्प रोक्न सकिँदैन तर त्यसको क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउन जरुरी छ । भूकम्पबाट हुने मानवीय क्षति पनि भौतिक क्षतिसँगै बढी हुन्छ ।’

पश्चिम नेपालका कमजोर भौतिक संरचनाका कारण पनि भूकम्पबाट मानवीय क्षति पनि बढाएको उनको भनाइ छ ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल विभिन्न तथ्यांकहरूले कर्णालीलाई भूकम्पको उच्च जोखिममा देखिएकाले यसको प्रतिकार्यका लागि सरकार गम्भीर भएको बताए । ‘भूकम्प मानवीय शक्ति रोक्न सक्ने अवस्था नभए पनि यसबाट हुने क्षति कम गर्न प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,’ उनले भने, ‘यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।’

विकास साझेदारहरू एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए । उनले भौतिक संरचना निर्माण गर्दा मापदण्डको पालना गरी बनाउनुपर्नेमा जोड दिए ।

भूकम्पको क्षति : सधैँ चहर्‍याउने घाउँ

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका १५४ जनाले ज्यान गुमाए । रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भयो । मृतकमध्ये ४२ जना आठबिसकोट नगरपालिका र १० जना सानीभेरी गाउँपालिकाका थिए । आठबिसकोटमा मृत्यु हुने ४२ मध्ये २६ जना एकै वडाका परेका थिए  । भूकम्पमा एकै परिवारका ६ जनाले ज्यान गुमाए । त्यो पीडा अहिले पनि निको नहुने घाउ बनेर पीडितहरूलाई चहर्‍याइरहेको छ ।

भूकम्पबाट जाजरकोटमा मात्र २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका छन् । जाजरकोटमा ३५ हजार ५८३ परिवारले अस्थायी आवासका लागि ५० हजारका दरले पहिलो किस्ता पाए पनि स्थायी आवासको काम अघि बढेको छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार जाजरकोटमा १४ हजार २४५ घर पुनर्निर्माण र १२ हजार ७४४ घर प्रबलीकरण गर्नुपर्ने देखिएको छ ।

हालसम्म ४ हजार ६९५ लाभग्राहीको फाइल प्राधिकरणमा पठाइए पनि भेरी नगरपालिकाका ६४१ जनासँग मात्र सम्झौता भएको छ । सम्झौता भएकाले पनि १० महिनासम्म रकम पाएका छैनन् । उनीहरू अहिले पनि टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । भूकम्पको त्रासदीले अहिले पनि उनीहरूलाई चैनले सुत्न नदिएको गुनासो गर्छन् ।