काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य शान्तिपूर्ण रूपमै गर्न सफल भएको छ ।
काठमाण्डु महानगरपालिका–११ थापाथलीमा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गरिँदैछ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
तीमध्ये काठमाण्डु महानगरभित्र २ हजार २४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी छन् ।
३ वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाण्डु उपत्यकामा झन्डै ४ हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ ।
सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरी काठमाण्डुका विभिन्न होटलहरूमा राख्ने तयारी छ ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ ।
अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आईतबारबाटै सुरु गरिनेछ ।
वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई २ हप्ताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।





प्रतिक्रिया