ललितपुर – योङ पिकासोको आयोजनामा २७ देशका बालचित्रकारहरूको चित्र प्रदर्शनी चिल्ड्रेन आर्ट एक्जिविसन पाटन संग्रहालयमा प्रदर्शन भएको छ ।
प्रदर्शनीमा सहभागी भएका देशहरुका नेपालसहित क्यानडा, बुल्गेरिया, ब्रुनोइ, मोनाको, साउदी अरेबिया, क्यामरुन, कोलम्बिया, युएई, स्पेन, एल साल्भाडोर, मेक्सिको, भारत, नेदरल्याण्ड, पेरु, इक्वेडर, बंगलादेश, श्रीलंका, भूटान आदि देश रहेका छन् ।
२ दिनसम्म चल्ने प्रर्दशनीमा नेपालबाट सहभागी भएका ३४ जना बालचित्रकारहरूको ८३ सहित विभिन्न देशबाट आएका ७७ वटा चित्र गरी जम्मा १६० वटा चित्रहरू प्रदर्शनीमा रहेका छन् ।
नेपालबाट सहभागी चित्रकारहरूमा लनि लामा, आशिर्या देशार, नित्या गोयंका, श्रीति चौधरी, उज्जवल अमात्य, अर्विन तण्डुकार, कियान्सराज शाक्य, युर्गेन तामाङ, आर्यमन लाखे, रोमल्ड सुदन राई, नेभेन महर्जन, नोराह डंगोल, स्वेब शाक्य, संयम महर्जन, सार्दुल विक्रम महत, आरोग्यराज शाक्य, दिब्यान्सा महर्जन, दियान शाक्य, पालिजा खड्गी, मिताञ्जली कुँवर, आध्या देशार, आरोग्य भण्डारी, अस्वी थापा, मिग्योल ताम्राकार, स्टेला तुलाधर, न्हुजला श्रेष्ठ, आर्यश्री लाखे, काभ्या श्रेष्ठ आदि रहेका छन् । नेपालबाट सहभागी भएकामध्ये २ जना बालबालिकाहरू चीनबाट बिदामा आएकोमा समयमा योङ पिकासोबाटै अध्ययन गरेका ल्यान जी र क्याण्डी हाओ पनि प्रदर्शनीमा सहभागी भएका छन् ।
सबै बालचित्रकारहरु योङ्ग पिकासोमा चित्रकला अध्ययन गरेका विद्यार्थीहरू रहेका छन् । प्रदर्शनीको उद्घाटन वरिष्ठ चित्रकार राधेश्याम मुल्मीले चित्र कोरेर गरेका थिए । समारोहमा मुल्मीसहित ग्लोबल एक्सन नेपालका संस्थापक तथा निर्देशक बाबुकाजी श्रेष्ठ, कोलम्बियन काउन्सिल अफिसका मिरा श्रेष्ठ, वरिष्ठ मूर्तिकार राकेश अवाले, साहित्यकारद्धय आरएम डंगोल र सोमनाथ दाहाल, समाजसेवी शाक्य शुरेन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशी आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै ग्लोबल एक्सनका निर्देशक बाबुकाजी श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई चिनेर अभिभावकले अवसर दिँदा धेरै बच्चाहरूको पहिचान अघि बढाउन सफल भइने बताए । उनले भने, ‘अबको बालबालिकामा भएको इच्छा अनुकुलको काम हामीले गराउँदा उसले जीवनमा सोही अनुसारको सफलता प्राप्त गर्न सक्नेछ ।’
वरिष्ठ चित्रकलाकार मुल्मीले चित्रकलाई माया गर्ने व्यक्तिले जीवनमा खासै अभाव भोग्नु नपर्ने भनाइ राखे । उनले भने, ‘मानिसले सबैभन्दा छिट्टो बुझ्ने माध्यम भनेकै चित्रकला हो, जसले व्यक्तिमा भएको भाव प्रकट गर्न सहयोग गर्छ ।’

आयोजक संस्था योङ्ग पिकासोका निर्देशक देशारले आफ्ना बालबालिकामा भएको प्रतिभालाई हरेक बाबुआमाले सच्चाएर अघि बढ्नु असल अभिभावकको कर्तव्य सावित हुनेमा जोड दिए । देशारले बालबालिकाहरूलाई केन्द्रित गरेर योङ पिकासो नियमित रूपमा प्रदर्शनी, पुस्तक प्रकाशन र गाउँगाउँका कलाको विकासका कार्यक्रम संचालन गरिरहेको जनाए ।
प्रदर्शनीको उद्घाटन समारोहमा १३ वर्षीया बालचित्रकार आशीर्या देशारद्वार चित्रकलासहित परिकल्पना गरी रचिएको पुस्तक एड्भेञ्चर ‘विदिन वन माइन्ड विमोचन समेत गरिएको थियो ।





प्रतिक्रिया