स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली

स्थानीय सरकार सशक्त बनाउन प्रशासकीय प्रमुख पठाइयो तर हस्तक्षेप कायम छ : पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं संसदीय दलका उपनेता गणेश पराजुलीले संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाए पनि व्यवहारमा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले स्थानीय तह कमजोर बनेको बताएका छन् ।

न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गर्दै संविधानमार्फत ३ तहको सरकार निर्माण गरिएको स्मरण गराए ।

उनले भने, ‘बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबिच सामाजिक, सांस्कृतिक एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै संविधानमार्फत हामीसँग ३ तहको सरकार बनेको छ । ३ तहको सरकारमध्ये स्थानीय तहलाई जवाफदेही र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर प्रयास भइरहेको छ ।’

पराजुलीले संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै स्थानीय कार्यपालिका र अधिकारबारे संविधानमै प्रस्ट व्यवस्था गरिएको बताए ।

उनले भने, ‘संविधानको भाग १७ अर्थात धारा २१४ मा स्थानीय कार्यपालिकाको व्याख्या गरिएको छ । भाग १८ अर्थात धारा २२१ मा स्थानीय कार्यपालिकाको स्पष्टसँग व्याख्या गरिएको छ । अधिकारहरू तय गरिएका छन् । स्थानीय तहले बनाउने कानुन, कर प्रणालीलगायत सबै विषयमा संविधानमा स्पष्ट रूपमा लेखिएको छ ।’

संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएको भए पनि विगतको अभ्यासमा त्यसको उद्देश्य कमजोर बनेको उनले टिप्पणी गरे ।

उनले भने, ‘सहकार्यको मर्मअनुसार संघीय सरकारले स्थानीय सरकारलाई सशक्त बनाउन प्रशासकीय प्रमुख पठाएको हो । तर विगतको ३७ वर्षमा अभ्यास के भयो भने संघले पठाउने प्रशासकीय प्रमुख भनेअनुसार हुनुपर्छ, मेरो राजनीतिक दलको सदस्यता लिएको हुनुपर्छ भन्ने आचरण जस्तो भयो । अनि त्यहाँ मच्चाइने भ्रष्टाचार र लुटतन्त्रलाई साथ दिनुपर्छ भन्ने स्पष्ट भयो ।’