काठमाण्डु– नेपाली कांग्रेस संसदीय दल नेता कसलाई बनाउने भन्ने विषयमा सहमति जुटेको छ । सोमबार बिहान उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले सहमति जुटाएको हो ।
केहिबेरमा सानेपा केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । उक्त बैठकमा सहमति अनुसारको नाम सभापति समक्ष बुझाउने सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले काठमाण्डुपाटीलाई जानकारी दिए ।
आफूहरुले दिएको नाम सभापति गगन थापाले कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गर्ने र दिउँसो १ बजे सांसदहरूबीच छलफल हुने रसाइलीले बताए ।
क–कसको नाम सिफारीस भएको छ ? भन्ने प्रश्नमा रसाइलीले भने ‘अहिले खुलाउन मिल्दैन निर्वाचन समितिका संयोजकको हैसियतमा आफूलाई टेवुल भएपछि मात्र नाम सार्वजनिक गर्नेछु ।’
पार्टीले जुटाएको सहमति अनुसारको नाममा दिउँसो १ बजे सांसदहरू बीचमा छलफल हुनेछ।
दलको विधान अनुसार हुने भएकाले संसदीय दल नेता कसलाई चुन्ने सांसदहरूको हातमा रहेको उनले बताए । उनले भने ‘आजको बैठकले सांसदहरू सहमत हुनुभयो भने भइहाल्यो, नत्र चुनाव हुन्छ ।’
कांग्रेसमा ३८ जना सांसद छन्।




प्रतिक्रिया