सुकुमबासी बस्तीबाट हटाइएका विद्यार्थीको पठनपाठन र परीक्षाबारे शिक्षा मन्त्रालयको चासो

सुकुमबासी बस्तीबाट हटाइएका विद्यार्थीको पठनपाठन र परीक्षाबारे शिक्षा मन्त्रालयको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुकुम्बासी बस्तीबाट हटाइएका विद्यार्थीको पठनपाठन र परीक्षा प्रभावित हुन नदिन सरकारले चासो देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बस्ती हटाउने कार्यबाट प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न मातहतका निकाय र स्थानीय तहलाई निर्देशन दिएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलले विद्यार्थीको सुरक्षा र शैक्षिक निरन्तरता सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी गरेका छन् । सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई पत्राचार गर्दै स्थानान्तरणमा परेका विद्यार्थीलाई नजिकको विद्यालयमा भर्ना र शैक्षिक सहजीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सोमबारैदेखि सुरु भएको १२ कक्षाको वार्षिक परीक्षालाई मध्यनजर गर्दै केन्द्रले परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न कठिनाइ नहुने गरी समन्वय गर्न निर्देशन दिएको छ । यदि बस्ती हटाउने क्रममा विद्यालय नै प्रभावित भएको भएमा वैकल्पिक स्थानको व्यवस्था गरी परीक्षा सञ्चालन गर्न समेत भनिएको छ ।

बस्ती स्थानान्तरणले विद्यार्थीको परीक्षा व्यवस्थापन र विद्यालय समायोजनमा पार्न सक्ने असरलाई कम गर्न स्थानीय तहलाई सक्रिय भूमिका खेल्न भनिएको छ । यस प्रक्रियामा विद्यार्थी वा विद्यालयसँग जोडिएका कुनै पनि समस्या, गुनासो वा सुझाव भएमा तत्काल केन्द्रमा पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।