काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ ।
सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने ओरालो लागेको छ ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ५ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको थियो । सोमबार भने कारोबार ४ अर्ब ७४ करोडमा सीमित भएको छ ।
३५१ कम्पनीका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर किनबेच भएको बजारमा १५७ कम्पनीका शेयर मूल्य बढे । १०२ वटाको मूल्य घट्दा १० कम्पनी स्थिर रहे ।
कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लाग्यो ।
निफ्रा ग्रिन इनर्जी डिबेन्चरको मूल्य सर्वाधिक १४.०१ प्रतिशतले घट्यो । दोस्रोमा माइखोला हाइड्रोपावर कम्पनीको मूल्य १०.०१ प्रतिशतले घटेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ६५२ रूपैयाँ कायम भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीको स्थान रिलायन्स स्पिनिङ मिल्सले बनाएको छ । कम्पनीको ३० करोड ७४ लाखको कारोबार भयो । प्रतिशेयर मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा ०.१९ प्रतिशतले घटेको छ ।
यस्तै आँखुखोला जलविद्युत् कम्पनीको २६ करोड १८ लाख रूपैयाँ बराबरको शेयर किनबेच भयो ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ८ समूहको परिसूचक बढ्यो भने ५ समूहको घट्यो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया