काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही प्रस्ताव कांग्रेस संसदीय दलको बैठकबाट पारित भएको सभापति गगन थापाले जानकारी दिए ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति थापाले संसदीय नेता चयनको प्रक्रियामा समय अलि बढी लागेकाले टीकाटिप्पणी हुनु स्वभाविक रहेको बताए ।
निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भए तापनि बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रूपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको जानकारी दिए ।
कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गाह्रो रहेको बताउँदै सभापति थापाले ढिलो भए पनि भित्रभित्रै परिपक्क बनाएको धारणा राखे ।
उनले भने, ‘चयनको प्रक्रियामा समय अलि बढी लागेकाले स्वाभाविक रूपमा टीकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रूपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गाह्रो छ । ढिला भए पनि परिपक्व बनाइरहेका थियौं ।’
नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबिचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबिचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए ।
‘हिजो पार्टी र संसद्बिचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ । पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं,’ उनले भने ।
उनले संसदीय दलको अन्य पदाधिकारीहरूको टुंगो २४ घण्टाभित्रमै टुंगो लाग्ने जानकारी दिए ।




प्रतिक्रिया