काठमाण्डु – नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई बैंकबाट ऋण लिएर लगानीकर्तालाई मार्जिन सुविधा उपलब्ध गराउने बाटो खोलेपछि पुँजी बजारमा ऋण विस्तारको नयाँ सम्भावना देखिएको छ ।
पछिल्लो मौद्रिक नीति र यसको समीक्षाले एकल ऋणी सीमालाई १५ करोडबाट बढाएर २५ करोड पुर्याउनु र जोखिम भारलाई १२५% बाट १००% मा झार्नुले बैंकहरूलाई लगानी बढाउन थप उत्साहित बनाएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक विश्लेषण गर्दा वाणिज्य बैंकहरूसँग अझै ठूलो मात्रामा मार्जिन कर्जा प्रवाह गर्ने क्षमता देखिन्छ । वाणिज्य बैंकहरूको कुल प्राथमिक पुँजी करिब ५.८८ खर्ब रुपैयाँ रहेको छ । नियमअनुसार बैंकहरूले आफ्नो प्राथमिक पुँजीको अधिकतम ४०% सम्म मार्जिन ट्रेडिङमा ऋण प्रवाह गर्न सक्छन् । यस हिसाबले कुल क्षमता २.३५ खर्ब रुपैयाँ हुन आउँछ । तर हालसम्म १.३४ खर्ब (२२.७३%) मात्र कर्जा प्रवाह भएको छ, जसले बजारमा अझै १ खर्ब रुपैयाँभन्दा बढीको थप ऋण विस्तार गर्न सकिने ठाउँ रहेको देखाउँछ ।
औसत तथ्यांक उत्साहजनक देखिए पनि सबै बैंकहरूको स्थिति समान छैन । केही बैंकहरू नियामक सीमाको निकै नजिक पुगिसकेका छन् । प्राइम कमर्सियल बैंक ३४.०६%, सनिमा बैंक ३३.२५%, कुमारी बैंक ३२.९४%, नबिल बैंक ३१.१३% पुगेकाले ४०% को सीमा नजिक देखिएका छन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (८.४५%), नेपाल एसबीआई बैंक (३.२६%) र स्ट्यान्डर्ड चार्टर्ड बैंक (०%) जस्ता बैंकहरूले यस क्षेत्रमा निकै कम लगानी गरेका छन् वा पूर्ण रूपमा सावधानी अपनाएका छन् ।

मार्जिन लेन्डिङ विस्तार हुँदा बजारमा तरलता बढ्ने र कारोबार सक्रिय हुने सकारात्मक पक्ष भए पनि यसका केही अन्तर्निहित जोखिमहरू रहेका छन् । ४०% को सीमा बैंकको प्राथमिक पुँजीमा आधारित हुन्छ । यदि बजारमा मन्दी आएर बैंकको खराब कर्जा बढ्यो भने प्राथमिक पुँजी घट्छ । पुँजी घट्ने बित्तिकै ऋण दिने क्षमता पनि स्वत: संकुचित हुन्छ, जसले बजारमा थप दबाब सिर्जना गर्छ ।
जोखिम भार १००% मा झारिए पनि शेयर बजार ओरालो लाग्दा धितोको मूल्य घट्ने भएकाले बैंकहरू प्रत्यक्ष जोखिममा पर्छन् । ब्रोकरमार्फत मार्जिन ट्रेडिङ सुरु हुनु भनेको बैंकको पैसा अर्को तहमा पुन: वितरण हुनु मात्र हो, यसले नयाँ पैसा सिर्जना गर्दैन, बरु प्रणालीभित्रै जोखिमलाई घुमाइरहने जनाइएको छ ।




प्रतिक्रिया