१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई निर्देशन दिएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार २०८३/०१/१४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ ।

हाल बजारमा १० केजीभन्दा कम तौलमा बिक्री भइरहेका बेकरी सर्टनिङहरू भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता (रिकल) गर्नुपर्नेछ । साथै, सो सम्बन्धी जानकारी सम्बन्धित क्षेत्रको विभागीय कार्यालयमा अनिवार्य रूपमा दिनुपर्ने पनि सूचनामा उल्लेख छ ।

विभागले यो निर्देशन उल्लंघन गर्ने उद्योगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले यस्तो व्यवस्था खाद्य गुणस्तर कायम राख्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै लागू गरिएको जनाएको छ ।

बेकरी सर्टनिङ के हो ?

बेकरी सर्टनिङ भनेको बेकरी उत्पादनहरू (केक, बिस्कुट, कुकिज, पेस्ट्री) लाई नरम, खस्ता र भुरभुरे बनाउन प्रयोग गरिने एक प्रकारको चिल्लो पदार्थ (फ्याट) हो। यो सामान्यतया वनस्पति तेललाई ‘हाइड्रोजिनेसन’ प्रक्रियाद्वारा जमाएर बनाइने वनस्पति घिउ वा डालडा जस्तै देखिने पदार्थ हो।

यसले पीठोमा ग्लुटेनको विकासलाई रोक्छ, जसले गर्दा बेकरी वस्तुहरू कडा नभई नरम हुन्छन्।

ट्रान्स फ्याटलाई स्वास्थ्यका लागि अति हानिकारक चिल्लो मानिन्छ। यसको नियमित सेवनले मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपन र क्यान्सर जस्ता गम्भीर रोगहरूको जोखिम बढाउँछ।