जनआस्था सम्पादक किशोर श्रेष्ठलाई जगदीश खरेलको चेतावनी

जनआस्था सम्पादक किशोर श्रेष्ठलाई जगदीश खरेलको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् जगदिश खरेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आफूबारे समाचार नलेख्न चेतावनी दिएका छन् ।

पत्रकारहरूको सामाजिक सञ्जाल ग्रूपमार्फत उनले श्रेष्ठलाई धम्कीयुक्त चेतावनी दिएका हुन् ।

उनले आफूबारेको समाचार स्रोत विश्वसनीय नभएको तथा रिपोर्टिङ परिपक्व र व्यावसायिक नभएको टिप्पणी गरेका छन् । जनआस्थाले खरेलले निजी कामका लागि विदेश जान रातो पासपोर्ट माग्दै संसद् सचिवालय पुगेको समाचार प्रकाशित गरेकोमा खरेलको आपत्ति छ । उनले आफू संसद् सचिवालय गएको स्वीकार गरेका छन् । तर रातो पासपोर्ट माग्न नभई सभामुख डोलप्रसाद अर्यालसँग बिदा माग्न गएको दाबी गरेका छन् ।

खरेलले सञ्चारमन्त्री भएका बेला कोरिया भ्रमणमा जाँदा विवादास्पद व्यवसायी एवं एनसेलका लगानीकर्ता शतीसलाल आचार्यसँग नभेटेको पनि दाबी गरेका छन् । आफू मन्त्रीका हैसियतमा ‘११औं ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुन दक्षिण कोरिया गएको र त्यहाँ आचार्यसँग भेट नभएको प्रष्टीकरण खरेलको छ ।

जनआस्थाको समाचार शतप्रतिशत झूट र कपोल्कल्पित रहेको भन्दै उनले तथ्य र प्रमाण सहितको पत्रकारिता गर्न सुझाएका छन् ।

खरेलले चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु नभएको बताए । ‘सम्पादकज्यू, जनआस्था । मेरो बारेको समाचार स्रोत विश्वसनीय भएन, रिपोर्टिङ परिपक्व र व्यावसायिक देखिएन । म सबैलाई स्पष्ट पार्न चाहन्छु– रातो पासपोर्टबारे, म साधारण पासपोर्टमार्फत नै भिसा अप्लाई गरेर सभामुखज्यूसँग बिदा माग्न गएको हो । रातो पासपोर्ट माग्न होइन,’ खरेलले लेखेका छन्, ‘कोरिया भ्रमणबारे: मन्त्री हुँदा ११औं ग्लोबल आईसीटी लिडरशिप फोरममा सहभागी हुन दक्षिण कोरिया गएको बेला त्यहाँ एनसेलका सतीशलाल आचार्यसँग भेटेको छैन । त्यो पनि कोरियामा ? यो शतप्रतिशत झूट र कपोल्कल्पित समाचार हो । तथ्य र प्रमाण सहितको पत्रकारिता गर्नुपर्छ । कोही पनि भ्रममा नपरौं । सत्य ढिलोचाँडो थाहा भइहाल्छ । अनि सम्वद्ध सबैका लागि: चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु होइन है !’