हुण्डी कारोबारी खोज्दै नेपाली दूतावास अबुधाबी, प्रमाणसहित विवरण दिन आग्रह

हुण्डी कारोबारी खोज्दै नेपाली दूतावास अबुधाबी, प्रमाणसहित विवरण दिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले अवैध वित्तीय कारोबार (हुण्डी) लाई निरुत्साहित गर्न कडाइ सुरु गरेको छ ।

दूतावासले मंगलबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै विदेशमा बसेर अनौपचारिक माध्यमबाट पैसा पठाउने (हुण्डी) गर्ने वा संकलित रकम नेपाल नपठाउने व्यक्ति र संस्थाको गोप्य विवरण प्रमाणसहित उपलब्ध गराउन नेपाली समुदायलाई आग्रह गरेको छ ।

नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय नीतिअनुसार दूतावासले यस्तो कदम चालेको छ । दूतावासका अनुसार हुण्डी कारोबारमा संलग्नहरूको सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित सुरक्षा निकायमा विद्युतीय माध्यमबाट नियमित रूपमा पठाउनुपर्ने नीतिगत व्यवस्था रहेको छ । सोही बमोजिम दूतावासले प्रत्येक महिना त्यस्ता सूचना र तथ्यांकहरू सरकारलाई पठाउँदै आएको छ ।

दूतावासले यूएईमा रहेका कुनै पनि व्यक्ति वा संस्थालाई गैरकानुनी हुण्डी कारोबार नगर्न र नगराउन सचेत गराएको छ । यदि कसैले यस्तो कार्य गरेको जानकारी भएमा प्रमाणसहित दूतावासको आधिकारिक इमेल [email protected] मा विवरण पठाएर सहयोग गर्न अनुरोध गरिएको छ ।

अवैध मार्गबाट हुने वित्तीय कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा समेत प्रभाव पार्ने भएकाले हुण्डीलाई निरुत्साहित गर्न दूतावासले सक्रियता बढाएको छ । यसरी प्राप्त हुने सूचना र विवरण दिने व्यक्तिको गोपनीयता कायम राखिने समेत जनाइएको छ ।