‘ई–जीपी’ ह्याक गरी ठेक्का हेरफेर गरेको मुद्दामा पक्राउ पर्नेको संख्या १३ पुग्यो

‘ई–जीपी’ ह्याक गरी ठेक्का हेरफेर गरेको मुद्दामा पक्राउ पर्नेको संख्या १३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका गोप्य विवरणहरू हेरफेर गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार पुरानो बानेश्वरबाट आशिष निर्माण सेवा प्रालिका सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी घर भई हाल काठमाण्डुको मण्डिखाटार बस्ने गौलीले प्रणाली ह्याक गरी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्टहरू परिवर्तन गर्ने गरेको ब्यूरोले जनाएको छ ।

मुद्दामा अहिलेसम्म १० जना निर्माण व्यवसायी र अन्य ३ जना गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरू पक्राउ परिसकेका छन् । सार्वजनिक खरिद प्रक्रियाको संवेदनशीलता र निष्पक्षतामाथि नै प्रहार गर्दै डिजिटल प्रणालीमा हस्तक्षेप गरिएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएका गौली र अन्य अभियुक्तहरूमाथि सुरुमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । यद्यपि घटनाको गम्भीरता र संलग्नहरूको सञ्जाललाई हेर्दै हाल उनीहरूमाथि ‘संगठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले स्पष्ट पारेको छ ।

सरकारी टेन्डर प्रक्रियामा अनधिकृत रूपमा छिरेर आर्थिक प्रस्ताव नै परिवर्तन गर्ने यस्तो गिरोह फेला परेपछि सार्वजनिक खरिद प्रणालीको सुरक्षामाथि समेत नयाँ बहस सुरु भएको छ ।

प्रहरीले घटनामा जोडिएका अन्य व्यक्तिहरूको खोजी र प्रणालीमा भएको क्षतिबारे विस्तृत प्राविधिक अनुसन्धान जारी राखेको जनाएको छ ।