काठमाण्डु – उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले फिल्म ‘लालीबजार’ को प्रदर्शनमा वैशाख २२ गतेसम्म रोक लगाएपछि निर्माण टिम र फिल्मकर्मीहरूले बुधबार माइतीघर मण्डला मा मौन विरोध प्रदर्शन गरेका छन्।
वादी समुदायको तर्फबाट रोशनी नेपाली ले मुद्दा दायर गरेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको हो। चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै उनले रिट दायर गरेकी थिइन्।
यम थापा निर्देशित ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा थियो। षट्कोण आर्टस द्वारा निर्माण गरिएको यो फिल्म वादी समुदायका महिलाहरूले गर्ने संघर्षको कथामा आधारित रहेको बताइएको छ।
अदालतको आदेशपछि प्रदर्शन रोकिँदा फिल्म क्षेत्र नै तरंगित बनेको छ। निर्माण टिमले ‘सिनेमा बोलोस्, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’ भन्दै विरोध जनाएको छ भने अर्को पक्षले समुदायको सम्मान र संवेदनशीलतालाई ध्यान दिनुपर्ने तर्क अघि सारेको छ।
यस विषयमा अदालतको अन्तिम निर्णय आउन बाँकी रहेकाले फिल्म ‘लालीबजार’ को प्रदर्शन कहिलेबाट पुनः सुरु हुने भन्ने अन्योल कायम छ।




प्रतिक्रिया