हेटौंडा – देशको ऊर्जा सुरक्षा र राष्ट्रिय गौरवसँग जोडिएको हेटौंडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइन निर्माणले हेटौंडा खण्डमा तीव्रता पाएको छ ।
लामो समयदेखि विभिन्न अवरोधका कारण रोकिएको आयोजना नेपाल विद्युत् प्राधिकरणको विशेष पहल, स्थानीय तहको समन्वय र प्रभावित समुदायसँगको समझदारीपछि सुचारु भएको हो ।
प्राधिकरणले ऊर्जा आत्मनिर्भरताका लागि आयोजनालाई प्रगति सम्झौताहीन प्राथमिकतामा राखेपछि १० दिनदेखि हेटौंडा क्षेत्रमा युद्धस्तरमा काम भइरहेको छ ।
निर्माण कार्यको पछिल्लो अवस्थाअनुसार हेटौंडा खण्डमा ठड्याउनुपर्ने कूल १४ वटा टावरहरूमध्ये धेरैजसोमा उल्लेख्य प्रगति देखिएको छ । हेटौंडा उपमहानगरपालिका–१५ मा पर्ने २ वटा टावरको जग हाल्ने कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । सबैभन्दा बढी १० वटा टावर रहेको वडा नम्बर १६ मा १ वटा टावरको जग निर्माण सकिएको छ भने अर्को १ टावरको काम अन्तिम चरणमा पुगेको छ ।
वडामा थप ३ वटा टावरका लागि आवश्यक ‘बेस’ तयार भइसकेको आयोजनाले जनाएको छ । वडा नम्बर १७ मा निर्माण हुने भनिएका २ वटा टावरको हकमा भने वन क्षेत्र परेका कारण केही प्रक्रियागत कार्य बाँकी रहेको छ ।
वन विभागबाट रुख कटान र जग्गा प्रयोगको अन्तिम स्वीकृति प्राप्त हुनासाथ तत्काल काम सुरु गर्ने तयारीमा प्राधिकरण रहेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रिय सहयोगका कारण पछिल्लो १० दिनयता काममा कुनै अवरोध आएको छैन भने प्राविधिक टोलीहरूले चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएर काम गरिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले प्रभावित वासिन्दालाई उचित मुआब्जा र क्षतिपूर्तिको सुनिश्चितता गर्दै कुनै पनि भ्रममा नपर्न अपिल गरेको छ । आयोजनालाई राष्ट्रिय स्वाभिमान र ऊर्जा सुरक्षाको आधारस्तम्भका रूपमा अर्थ्याउँदै प्राधिकरणले विकासको महायज्ञमा सहभागी हुन सबैमा आग्रह गरेको छ । हेटौंडा खण्डको प्रगतिले समग्र प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा जोड्न र नेपालको ऊर्जा स्वतन्त्रताको यात्रालाई सफल बनाउन ठूलो योगदान पुर्याउने जनाइएको छ ।
४०० केभी प्रसारण लाइन सम्पन्न भएपछि नेपालको आन्तरिक विद्युत् आपूर्ति प्रणाली सुदृढ र भरपर्दो हुनुका साथै छिमेकी मुलुकहरूसँगको विद्युत् व्यापारमा समेत नयाँ आयाम थपिनेछ । वन विभागबाट बाँकी रहेको स्वीकृति छिट्टै प्राप्त हुने र हेटौंडा खण्डका सबै टावर निर्माण कार्यले छिट्टै पूर्णता पाउने अपेक्षा आयोजनाले राखेको छ ।




प्रतिक्रिया