तारुकामा गोरु जुधाइको भव्य उत्सव

तारुकामा गोरु जुधाइको भव्य उत्सव


नुवाकोट- नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्माले गरे । यस्तै प्रतियोगिता हेर्नकै लागि संघीय सांसद नारायणप्रसाद खतिवडा, भैरव बहादुर सिंह, प्रदेशसभा सांसद केवश पाण्डेलगायत तारुका पुगेका छन् ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह माघे सङ्क्रान्तिका बेला हालको गोरुजात्रा हुने स्थान चन्दनीस्थित मामाघर आउँदा भाञ्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा सुरु गरेको बताइए पनि यकिन इतिहास भेटिएको छैन ।

यही परम्परा अन्त पनि विस्तार हुँदै क्रमशः राजधानी र वरपरका धेरै जिल्लाको लागिसमेत मनोरञ्जनको माध्यम बनिसकेको पाइन्छ । यस्तै कार्यक्रममा स्थानीय तामाङ र नेवारी संस्कृति झल्किने झाँकीले कार्यक्रमलाई थप रौनकता थपेको छ ।

न्यौपानेका अनुसार मंगलबार बेलुकासम्म २३ हल गोरु जुधाइने कार्यक्रम रहेको छ भने विजयी गोरुधनीलाई पुस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । तारकेश्वर गाउँपालिका–३ (साविकको तारुका–५) स्थित चन्दनीमा गोरु जुधाइ प्रतियोगिता भएको हो ।