विकल पौडेल र उनकी श्रीमतीविरुद्ध झण्डै ६९ करोड विगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर

विकल पौडेल र उनकी श्रीमतीविरुद्ध झण्डै ६९ करोड विगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ विगो कायम गरी सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

विभागले अनुसन्धान प्रतिवेदन र रायसहित जिल्ला सरकारी वकील कार्यालय काठमाण्डुमार्फत बिहीबार काठमाण्डु जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

पर्वतको साविक कटुवाचौपारी स्थायी घर भई हाल काठमाण्डुको मण्डिखाटार बस्ने ४३ वर्षीय विकल पौडेलले विदेशी विनिमय अपचलन गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको विभागको निष्कर्ष छ । यसअघि २०८१ असोज १४ गते पौडेल दम्पतीविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ विगो कायम गरी विदेशी विनिमय अपचलनको मुद्दा दायर भइसकेको थियो । सोही कसूरबाट आर्जित सम्पत्तिको थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उल्लंघन भएको पाइएपछि नयाँ अभियोग दायर गरिएको छ ।

विभागका अनुसार प्रतिवादी विकल पौडेलले ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ र उनकी श्रीमती एलिना बस्नेतले ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ । विभागले विगोको दोब्बर जरिवाना, कसूरको मात्रा अनुसार कैद सजाय र अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

विभागका निर्देशक सचित कुमार वाइवाका अनुसार पौडेल दम्पतीले विदेशी विनिमयको अवैध कारोबार गरी प्राप्त गरेको रकमलाई सम्पत्ति शुद्धीकरणमार्फत वैध बनाउने प्रयास गरेको तथ्य अनुसन्धानबाट स्थापित भएको छ । सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार प्रकरणमा समेत जोडिएका पौडेलमाथि विभागले पछिल्लो समय वित्तीय अपराधतर्फ अनुसन्धान केन्द्रित गर्दै आएको थियो ।