काठमाण्डु – नेपाली कांग्रेसले गत २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा आफ्नै बहालवाला मन्त्री र सांसदहरूलाई स्पष्टीकरण सोधेको छ ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले ७ जना प्रभावशाली नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले लुम्बिनी र कोशी प्रदेशका मन्त्रीहरूसहित मधेश प्रदेशका सांसदहरूलाई अनुशासन उल्लंघनको मुद्दामा पत्राचार गर्ने निर्णय गरेको छ । निर्वाचनका क्रममा पार्टीको निर्णयविपरीत कार्य गरेको र उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो ।
स्पष्टीकरण सोधिएकाहरूमा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) र यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् । कोशी प्रदेशका मन्त्री एवं पूर्व केन्द्रीय सदस्य प्रदिप सुनुवार र लुम्बिनी प्रदेशका उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाललाई पनि समितिले स्पष्टीकरण सोधेको छ ।
मधेश प्रदेशबाट ३ जना प्रदेश सांसदहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि अनुशासन उल्लंघनको कसुरमा ५ दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ ।
पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार तोकिएको समयभित्र स्पष्टीकरण नबुझाएमा वा चित्तबुझ्दो जवाफ नआएमा विधान बमोजिम थप कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।





प्रतिक्रिया