बाजुरा – बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी परेको छ ।
जिल्लाका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ, असिनापानी परेको हो । मौसममा आएको बदलीसँगै तीव्र वेगमा हावाहुरी चल्दा जनजीवन प्रभावित बनेको छ ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको छ । मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ ढम्कनेका स्थानीय हरिकृष्ण बोहराले बताए । बाजुरामा बर्सेनि असिना पानीले हिउँदे बालीनालीमा असर पुर्याउने गरेको उनले जानकारी दिए । असिना हिउँ गहुँ, जौ लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बाजुरामा हिजो बेलुकी मात्रै परेको असिना पानी र चट्याङले पशु चौपायामा क्षति पुर्याएको छ । विभिन्न ठाउँमा १६ भेडा बाख्रा मरेका हुन् भने ३८ भेडा बाख्रा हराएका छन् । हावाहुरीले घरहरूमा समेत क्षति पुर्याएको छ ।
बाजुरामा बर्सेनि विगतजन्य घटनाबाट ठूलो क्षति हुने गरेको छ ।




प्रतिक्रिया