काठमाण्डु– नेपाली नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्वको सरकार निरंकुशतातर्फको बाटोमा अग्रसर भएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पश्चिम रुकुमको सदुमुकाम मुसिकोटमा स्थानीय संवाददाताहरुसँग कुरा गर्दै सरकारका पछिल्ला कदम निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाएका हुन् ।
संगठित हुन पाउने संविधान प्रदत्त अधिकारमाथि हस्तक्षेप गरेर विद्यार्थी संगठन र ट्रेड युनियन खरोज गर्ने तथा पछिल्लो समय सुकुमबासी बस्तीमा हडात डोजर चलाउने सरकारका गतिविधिले निरंकुशता लाद्न खोजिएको आशंका उब्जिभएको प्रचण्डको टिप्पणी थियो ।
यस्तै राष्ट्रपतिबाट आह्वान भइसकेको संसद बैठक स्थगन गरेर अध्यादेशमार्फत शासन गर्ने शैली सरकार निरंकुशताको बाटोमा अघि बढेको प्रमाण भएको दाबी उनले गरे । आफूले सुरुआती दिनबाटै सरकारले राम्रो गर्दा समर्थन र नराम्रो गर्दा खबरदारी गर्ने बताएको स्मरण गर्दै उनले सरकारलाई सच्चिन आग्रह पनि गरे ।
उनले अभिभावकको रुपमा सरकारलाई सहयोग र खबरदारी दुवै गर्ने उल्लख गरे । फरक प्रसंगमा प्रचण्डले सरकार निरंकुश बन्ने संकेत पाएकाले आफूहरु लामो इतिहास भएका दलहरुबीचको सहकार्यमार्फत संविधान र गणतन्त्र रक्षाको बाटोमा अघि बढ्ने बताए । त्यसका लागि अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध बलियो बनाउन काम गर्ने जनाए ।
२१ फागुनको निर्वाचन परिणाममाथि शंका
प्रचण्डले गत २१ फागुनमा सम्पन्न मध्यावधि निर्वातनको परिणाम अस्वभाविक रहेको जिकिर गर्दै त्यसबारे अनुसन्धान हुनुपर्ने बताए ।
निर्वाचन परिणाम असामान्य र अस्वभाविक भएको दाबी उनको छ । कतिपय स्थानमा उम्मेदवारले आफूलाई हालेको भोटसमेत गायब पारिएकोबाट निर्वाचन स्वच्छ भएको मान्न नसकिने बताए । ‘कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता’, उनले भने, ‘कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए । त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन ।’
प्रचण्डले निर्वाचन परिणामबारे गहिरो अध्ययन र अनुसन्धान गरिनुपर्ने तर्क गरे । तर, रास्वपाले प्राप्त गरेको झण्डै दुई तिहाई मतलाई आफूहरुले स्वीकारेको प्रचण्डले स्पष्ट गरे ।
कम्युनिष्ट आन्दोलन एक बनाउने बाचा
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र एकताबद्ध बनाएर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए । त्यसका लागि पहल सुरु भइसकेको जानकारी उनले दिए ।
‘नेपालको सिंगो कम्युनिस्ट आन्दोलन पुनर्गठन आवश्यक छ’, उनले भने, ‘निर्वाचनमा खाएको धक्कालाई ध्यानमा राखेर सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने गरी पार्टीको विस्तारित बैठकले निर्णय गरेको छ । त्यसको पहल सुरु पनि भइसकेको छ ।’




प्रतिक्रिया