रोल्पा जिप दुर्घटना २१ घण्टापछि शव सडकमा ल्याइयो, २० जनाको मृत्यु

रोल्पा जिप दुर्घटना २१ घण्टापछि शव सडकमा ल्याइयो, २० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-दुर्गम भूगोल र अत्यन्तै कठिन परिस्थितिबीच रोल्पाको जलजलामा भएको जिप दुर्घटनाका मृतकहरूको शव २१ घण्टाको प्रयासपछि सडकसम्म ल्याइएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा जिप सडकबाट करिब ८ सय मिटर तल गहिरो खोचमा खसेको थियो।

विकट भू–भाग, भीरालो संरचना, कमजोर सञ्चार पहुँच र सडक सञ्जालको अभावका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनील थापा नेपालीका अनुसार दुर्घटनाको सूचना पाएको २० मिनेटभित्रै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। तर, खोचको गहिराइ र जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्यमा लामो समय लागेको हो।

उद्धार टोलीले डोरीको सहायताले भीरमा बाटो बनाउँदै तल झर्नु परेको र एक–एक गरी शव बोकेर माथि ल्याउनु परेको थियो। सञ्चार सुविधा कमजोर हुँदा थप जनशक्ति परिचालन र समन्वयमा समेत कठिनाइ भएको जनाइएको छ। अन्ततः शुक्रबार बिहान ११ः४५ बजे उद्धार कार्य सम्पन्न गरिएको हो।

दुर्घटनामा चालकसहित २० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये चार बालक, चार पुरुष र १२ महिला रहेका छन्। यद्यपि अधिकांशको पहिचान अझै खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी उपचारपछि बिहीबार राति डिस्चार्ज भएका छन्। जिप चालक बेदबहादुर बिकको घर पनि सोही स्थानमा रहेको खुलेको छ। प्रहरीले मृतकहरूको सनाखत गर्ने प्रयास जारी राखेको जनाएको छ।