काठमाण्डु- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–८, कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग ४ प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर पछाडि सवार हुप्सेकोट गाउँपालिका–२ निवासी निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
स्कुटर चालक कावासोती नगरपालिका–८ निवासी ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। उनको हाल भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया