काठमाण्डु- लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर चलिरहेको विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख खोलेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिसम्बन्धी विवादमा सरकारको कडा आलोचना गरेका हुन्।
उनले आनीको नामै लिएर विवादास्पद व्यक्तिको नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरी हिरासतमा राखेपछि छाडिएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।
पौडेलले लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नियुक्ति विवाद समाधान गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको आरोप लगाएका छन्।
‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड! त्यो पनि मध्यरातमै! अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने!’, उनले भनेका छन्।
सरकारको यस्तो व्यवहारको समर्थन गर्न नसकिने उनको भनाइ छ। पौडेलले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलका रूपमा मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदाका रूपमा व्याख्या गरेका छन्।
यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने उनको तर्क छ।
नियुक्तिका क्रममा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत ध्यान दिनुपर्ने पनि उनले बताएका छन्।
आनीको नियुक्तिबारे प्रश्न
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने पौडेलले बताएका छन्।
उनले आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै ती प्रश्नको स्पष्ट जवाफ नआएसम्म सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न नसक्ने धारणा राखेका छन्।
पौडेलले सरकारलाई विरोधभन्दा पनि सुझाव दिएको उल्लेख गर्दै नियुक्तिबारे उठेका प्रश्नको समाधान खोज्न आग्रह गरेका छन्।
‘राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन’, उनले भनेका छन्।
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति र त्यसविरुद्ध प्रश्न उठाउने नागरिकमाथि गरिएको निएको धरपकडलाई लिएर पौडेलले सरकारको आलोचना गरेका हुन्।


प्रतिक्रिया