काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक पात्रो सुधार्न अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको हो ।
शैक्षिक पात्रो सुधार्नकै लागि महिनामा ३ देखि ४ प्रकारका परीक्षा लिइरहेको र २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी काम भइरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए।
वैशाख महिनामा मात्रै ४ प्रकारका स्नातक तहतर्फ बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा भइरहेका छन् ।
परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गरिने बताए।
यस्तै असार महिनामा स्नातक तहको सबै संकायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ।
अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्। यस्तै परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा नै परीक्षाफल प्रकाशन गर्ने गरेको छ।




प्रतिक्रिया