काठमाण्डु – रोल्पाको थवाङमा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको २ दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक मुख खोलेको छ ।
बिहीबार दिउँसो भएको हृदयविदारक घटनापछि सामाजिक सञ्जाल र नागरिकस्तरबाट सरकारको मौनतामाथि प्रश्न उठिरहेका बेला शनिबार प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै सरकारी सक्रियताको बचाउ गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आफैँले सम्हालिरहेको गृह मन्त्रालयले दुर्घटनाको लगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई दिइएको ३ दिनको समयावधि शनिबार समाप्त हुँदैछ ।
प्रधानमन्त्री कार्यालयले समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजान तथा देशभरकै सडक सुरक्षा प्रणालीमा सुधार गर्न आफू प्रतिबद्ध रहेको दाबी गरेको छ ।
विगतका यस्ता दर्जनौँ ठूला दुर्घटनापछि गठन भएका समितिका प्रतिवेदनहरू दराजमै थन्किएका कारण यस पटकको समितिको निष्कर्षले कत्तिको सार्थकता पाउँछ भन्नेमा आशंका बाँकी नै छ ।
विज्ञप्तिमा दुर्घटनालगत्तै नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्यलाई तीव्रता दिइएको र गृह मन्त्रालयले सोही दिन आधिकारिक जानकारी सार्वजनिक गरेको उल्लेख छ । ‘सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया