राजनीतिक नियुक्ति खारेजबारे कांग्रेसको टिप्पणी-पुरानालाई दलीय भनेर बदनाम नगरौँ

राजनीतिक नियुक्ति खारेजबारे कांग्रेसको टिप्पणी-पुरानालाई दलीय भनेर बदनाम नगरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अध्यादेशमार्फत् राजनीतिक नियुक्ति खारेज गरेपछि नेपाली कांग्रेसले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगर्न आग्रह गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका छन् ।

उनले लेखेका छन्, ‘कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन । त्यसैले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयॅालाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौँ ।’

‘रास्वपा भित्र पनि पूर्व काग्रेस, एमाले,माओवादी,राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन्। अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टी भित्रका दलीयहरूको भविष्य के हुने हो ? सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य ? यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो’, उनले लेखेका छन् ।

चालिसेले थप लेखेका छन्, ‘मत दिनु र कार्यकर्ता हुनु फरक कुरा हो। व्यक्ति एक, नाता अनेक हुन्छ ।कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ, त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ । सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ । समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन । कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने संस्कृतिले यो समाजलाई कहाँ पुर्‍याउँछ ?’