काठमाण्डु – विराटनगर विमानस्थलमा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार शनिबार दिउँसो करिब ३ : ३५ बजे नियमित सुरक्षा जाँचका क्रममा भारतको माल्दा जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीलाई पक्राउ गरिएको छ । उनी श्री एयरलाइन्सको उडानमार्फत काठमाण्डु जान लागेका थिए । अलीले बोकेको झोलाभित्र नेपाली १५ लाख ९८ हजार रुपैयाँ फेला परेको हो ।
त्यसैगरी, एक दिनअघि शुक्रबार राति करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाण्डु जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलिप तामाङ पनि पक्राउ परेका छन् । तामाङको साथबाट ११ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद भएको छ । स्रोत नखुलेको यति ठूलो रकम भेटिएपछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
नेपालमा नगद बोकेर यात्रा गर्न पूर्ण प्रतिबन्ध नभएपनि असामान्य रूपमा ठूलो रकम भेटिएमा त्यसको वैधता प्रमाणित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रहरीले दुवै व्यक्तिको आर्थिक पृष्ठभूमि, सम्भावित संलग्नता र रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया