काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा सम्बन्धित निर्माण कम्पनीको कार्यालयमा गरिएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् ।
मुख्यमन्त्री बानियाँले आफूले नेतृत्व सम्हालेदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको उल्लेख गरेका छन्।
उनले सार्वजनिक खर्च कटौती र आर्थिक मितव्ययीतामा जोड दिँदै योजना तथा बजेट कार्यान्वयनमा पारदर्शिता अपनाइएको दाबी गरे।
प्रेस विज्ञप्तिमा उनले राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानमा आफूले पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्। ‘संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो समर्थन रहन्छ,’ उनले भनेका छन्।
तर, सञ्चारमाध्यममा आएको समाचारका आधारमा गरिएको छापामारीले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको पनि उनले जनाएका छन्। आवश्यक परेमा आफू भौतिक रूपमा उपस्थित हुन तयार रहेको अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति उनले आपत्ति जनाएका छन्।
मुख्यमन्त्री बानियाँले प्रदेशवासी तथा आफ्ना समर्थकलाई भ्रमित नहुन आग्रह गर्दै आफू जनताको सेवामा निरन्तर लागिरहने बताएका छन्।
अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाण्डुको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।





प्रतिक्रिया