काठमाण्डु – एभरेष्ट पेपर मिल्स प्रालिका श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक संघर्षपछि आफूले पाउनुपर्ने सेवासुविधा बापतको कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन् ।
उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि १७४ जना श्रमिकहरूले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए ।
अन्त्यमा श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिअनुसार सबै श्रमिकले विभिन्न चेकमार्फत बक्यौता रकम प्राप्त गरेका हुन् ।
पटक–पटकको कानुनी संघर्षपछि श्रम अदालतले २०८२ चैत १७ गते ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्नका लागि बैंक खाता फुकुवा गर्न आदेश दिएको थियो । तर बैंक खाता फुकुवा गरिए तापनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकहरूले अदालतको अवहेलना भएको भन्दै पुन: निवेदन दिएका थिए ।
निर्णय कार्यान्वयन नभएको भन्दै पुन: निवेदन परेपछि २०८३ भदौ २६ गते शेयर धनीहरूको बैंक खाता, सम्पत्ति तथा शेयरसमेत पुन: रोक्का गरिएको थियो ।
प्रशासनिक र कानुनी कारबाहीपछि अन्तत: २०८३ असोज ३० गते श्रम अदालतको आदेश बमोजिमको ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा र भदौ तथा असोज महिनाको तलबसहित कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा १७४ जना श्रमिकहरूलाई भुक्तानी गरिएको छ । विभिन्न चेकमार्फत रकम हस्तान्तरण गरिएसँगै लामो समयदेखि रोकिएको सहमति र अदालतको निर्णय पूर्णरूपमा कार्यान्वयनमा आएको छ ।


प्रतिक्रिया