काठमाण्डु– भारतको पश्चिम बङ्गाल (कालीघाट क्षेत्र) जहाँ मुख्यमन्त्री ममता बनर्जी बसोबास गर्छिन्, सामान्यतया चुनावपछिको उत्सवले भरिने वातावरण यसपटक शान्त र मन्द देखिएको छ।
अघिल्ला चुनावहरूमा त्यहाँका सडकहरू टिएमसीको हरियो रंगले भरिन्थे, समर्थकहरूले बंगालको विजय भन्ने नारा लगाउँदै। यसपटक भने भीड पातलो छ र वातावरण शान्त छ।
बंगाल राज्यमा ममता बनर्जीको १५ वर्ष लामो शासन ढलेको छ। विधानसभा चुनावको मतगणना जारी रहँदा उनको तृणमूल कंग्रेस पार्टी मात्र ९७ सिटमा अगाडि छ।
२९४ सिटको विधान सभामा भारतीय जनता पार्टी १९१ सिटमा अगाडि देखिएको छ।
यो हार ७१ वर्षको उमेरमा, बंगालकी सबैभन्दा प्रभावशाली नेतृले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षा सामना गर्नुपर्ने देखिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका लागि ऐतिहासिक जित बन्ने भएको छ। ममताको शासनकालमा राज्यमा कुशासन र गुण्डागर्दी मौलाएको आरोप भाजपाले लगाउँदै आएको थियो।
उनको व्यक्तित्व बलियो हुँदाहुँदै पनि पछिल्लो समय आरजी कर बलात्कार घटनालगायत मुद्दाहरूमा ममताको सरकारले राम्रो काम गर्न नसकेको आरोप पनि लागेको थियो।
यता, जोसेफ विजय (थालापती) तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावना सुनिश्चित बनेको छ । मिडिया रिपोर्टका अनुसार, कुल २३४ सिटमध्ये सरकार बनाउन ११८ सिट आवश्यक पर्नेमा विजयको पार्टी तमिलगा वेत्री कजगम (टीभीके) १०७ देखि १०९ सिटसम्ममा अगाडि देखिएको छ।
अप्रिल २३ मा एकै चरणमा सम्पन्न भएको तमिलनाडु विधानसभा चुनावमा ८५ प्रतिशतभन्दा बढीको ऐतिहासिक मतदान भएको थियो ।
सोमबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा टीभीकेले लगातार अग्रता कायम राखिरहेको छ।
विपक्षी एमआईएडीएमके ५२ सिट आसपास अग्रता कायम गरिरहेको छ । अन्य उम्मेदवारहरूले ११ सिटमा अग्रता कायम गरिरहेका छन् ।
त्यहाँबाट पुनः चुनाव लडिरहेका वर्तमान मुख्यमन्त्री तथा डीएमकेका शीर्ष नेता एम.के. स्टालिन आफ्नै सिटमा पछाडि परेका छन्। चौथो चरणको मतगणनासम्म स्टालिनभन्दा टीभीकेका नवप्रवेशी उम्मेदवार भि.एस. बाबु अगाडि छन्।
त्यसैगरी, मदुरै साउथ सिटमा टीभीकेका उम्मेदवार गोपीसन फराकिलो अग्रतामा छन्। उनलाई डीएमकेका भूमिनाथन, भाजपाका राम श्रीनिवासन र एनटिकेकी सुमती लगायतले पछ्याइरहेका छन् । तिरुपुर साउथमा पनि टीभीकेका एस. बालामुरुगन अगाडि छन् भने डीएमकेका एन. दिनेशकुमार पछाडि परेका छन्।




प्रतिक्रिया