काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरेको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।सचिवालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सो समाचारहरू वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत भएको स्पष्ट पारेको हो ।
प्रधानमन्त्रीले सञ्चारकर्मीहरूलाई कार्यक्षेत्रबाट हटाउन वा आफ्नो भिडियो खिच्न रोक्न कुनै पनि किसिमको निर्देशन नदिएको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन् ।
प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनहरूको अत्यधिक भीडभाड देखेपछि व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राखेका थिए। उक्त चासो केवल सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको थियो।
कार्यकक्षमा प्रवेश गरिसकेपछि प्रधानमन्त्रीकाे सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेटमा रहेका सञ्चारकर्मीहरूलाई त्यहाँबाट हट्न भनेको भन्ने गुनासो सचिवालयमा प्राप्त भएको र यसबारे जानकारी पाएलगत्तै सचिवालयले सम्बन्धित निकायसँग समन्वय गरी सञ्चारकर्मीहरूको पहुँचमा कुनै कटौती नभएको स्पष्ट गरिसकेको जनाएको छ।
जहाँ सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने दाहालले बताइन् ।
सरकारले प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार जगतसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।
सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’का रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।




प्रतिक्रिया