काठमाण्डु – सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई महिनाको २ पटक (अर्धमासिक) तलब भत्ता भुक्तानी गर्न देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) हरूलाई पत्राचार गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोलेनिकाहरूलाई पत्राचार गर्दै हरेक महिनाको १५ दिन व्यतित भएपश्चात अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न निर्देशन दिएको हो ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाका अनुसार अर्धमासिक भुक्तानीको व्यवस्था हालका लागि परीक्षणका रूपमा कार्यान्वयनमा ल्याइएको हो । अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको नीतिगत मार्गदर्शन र अर्थ मन्त्रालयको वैशाख १६ गतेको स्वीकृति बमोजिम नयाँ प्रणाली लागू गरिएको उपमहालेखा नियन्त्रक कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
कर्मचारीहरूले अब महिनाको अन्त्यसम्म कुर्नु नपर्ने गरी महिनाको १५ दिन पुगेपछि पहिलो किस्ता र महिना सकिएपछि बाँकी तलब भुक्तानी पाउनेछन् । यसका लागि महालेखा नियन्त्रक कार्यालयले आफ्नो भुक्तानी प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाइसकेको जनाएको छ ।
कार्यालयले वैशाख २१ गतेको निर्णयानुसार सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई सोही बमोजिम कार्य अगाडि बढाउन परिपत्र गरेको छ ।
यसअघि सरकारी कर्मचारीहरूले महिना भुक्तान भएपछि मात्र एकमुष्ट तलब पाउने व्यवस्था थियो । नयाँ व्यवस्था संघीय सरकार मातहतका सबै निकायमा कार्यरत कर्मचारीहरूको हकमा लागू हुनेछ ।





प्रतिक्रिया