काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्यो । कांग्रेसले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरू नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गर्दै राजीनामा मागेको हो ।
भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट बजेट पास गर्दा गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप कांग्रेसको छ । प्रदेशसभाको बहुमतले दसैंको पूर्वसन्ध्यामा गत २५ असोजमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको थियो ।
शाह नेतृत्वको सरकारले बजेट टेबल गरे पनि पारित गर्न सकेको थिएन । उक्त बजेट बेथितिपूर्ण रहेको भन्दै भट्ट नेतृत्वको सरकारले पूरक बजेट ल्याएको हो । कांग्रेसले आफूले ल्याएको बजेट खारेज गरेर पूरक बजेट ल्याउने निर्णयलाई गैरसंसदीय अभ्यास भनेको छ ।
कांग्रेसले नैतिकताको प्रश्न उठाउँदै राजीनामा मागेको विषयमा काठमाण्डु पाटीले मुख्यमन्त्री भट्टको प्रतिक्रिया मागेको थियो ।
जवाफमा भट्टले सत्ता लिप्सा र अनैतिकताको हदसम्म गिरेका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको कांग्रेस दल बैठकले आफ्नो राजीनामा माग्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।
आफैंले प्रस्तुत गरेको बजेट पारित गर्न नसकेर सरकारबाट गलहत्याइएका पूर्वमुख्यमन्त्रीले अरुको नैतिकताको जाँच लिन नमिल्ने उनले उल्लेख गरे
। मुख्यमन्त्री भट्टले नेकपा र एमालेबीच सत्ता साझेदारीको सहमतिपछि एमालेले सरकार छाडेको एक महिनासम्म कुर्सी नछाडेका शाहले अहिले आफूहरूलाई इमान सिकाउन नखोज्दा राम्रो हुने बताए ।
‘आफैंले प्रस्तुत गरेको बजेट पास गर्न नसकेर सत्ताबाट बाहिरिने आफू, नेकपा र एमालेबीच सरकारमा सहकार्य गर्ने सहमति भएको एक महिनासम्म जुका जसरी कुर्सीमा टाँसिने आफू’, भट्टले काठमाण्डुपाटीसँग भने, ‘अल्पमतमा परेको एक महिनासम्म टाँसिए सत्तामा बसेका, विश्वासको मत नपाएर गलहत्याइएका अनैतिकहरूबाट हामीले नैतिकताको कक्षा लिनुपर्ने हो अब ?’
भट्टले शाहले मुख्यमन्त्री हुँदा योजना खरिद–बिक्री गरेको आरोप पनि लगाए । तत्कालीन सत्ता साझेदार एमाले मन्त्रीहरूबाटै शाहले बजेटमा समावेश गरिएका विकास आयोजना बिक्री गरेको आरोप खेपेका थिए ।
‘सांसदलाई योजना खरिद–बिक्री बिक्री गर्ने मुख्यमन्त्रीले हामीलाई सुशासन र सिकाउने नैतिकता सिकाउने ?’, भट्टले भने, ‘उहाँले आफ्नो निधारमा लागेको कलंकको टीका मेटिसकेको ठान्नुभएको होला, जति धोए पनि त्यो टीका पखालिनेवाला छैन ।’
संसद्को बहुमत आफ्नो सरकारसँग रहेको बताउँदै भट्टले तागत भए आफूविरुद्ध संख्या जुटाउन चुनौती दिए । ‘बहुमत गुमेका दिन उहाँले जसरी अनैतिक रुपमा एक मिनेट पनि कुर्सीमा बस्दिनँ’ भट्टले भने ।
आफूहरू विपक्षमा हुँदा बजेट ल्याउँदा सधैँ सहयोग गरेको भन्दै उनले बजेट पारित गर्दा प्रदेशसभा बहिस्कार गरेर कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नसमेत चुकेको आरोप लगाए ।
तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता भट्ट गत २९ साउनमा एमाले समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।


प्रतिक्रिया