काठमाण्डु- विश्व कोरोना महामारीको प्रभाव पूर्ण रूपमा समाप्त हुन नपाउँदै अर्को भाइरस हन्ता भाइरसको चर्चा फेरि सुरु भएको छ। हालै आन्ध्र महासागर क्षेत्रमा सञ्चालित एक जहाजमा यस भाइरसका कारण ३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्र फेरि सचेत बनेको छ। विशेषज्ञहरूका अनुसार अर्जेन्टिनाबाट दक्षिण अफ्रिका जाँदै गरेको एमभी होनिडस नामक जहाजमा यो संक्रमण देखिएको हो।
हन्ता भाइरस गम्भीर र घातक भए पनि यो कोरोना जस्तो विश्वव्यापी रूपमा तीव्र फैलिने रोग होइन। यो विशेष गरी सरसफाइको कमीका कारण मुसा धेरै हुने स्थानमा मात्र जोखिमपूर्ण हुन्छ। र यो कुनै नयाँ रोग पनि होइन । यो मुख्यतया मुसाबाट सर्ने भाइरसहरूको एउटा रोग हो । जसले मानिसको फोक्सो वा मिर्गौलामा गम्भीर असर पुर्याउँछ। फोक्सोमा संक्रमण भएमा सास फेर्न अत्यन्तै कठिन हुन्छ र अवस्था जटिल बनेमा ज्यानसमेत जान सक्छ।
विशेषज्ञहरूका अनुसार हन्ता भाइरस प्राय संक्रमित मुसाको दिसा, पिसाब वा र्याल सुकेर धुलोसँग मिसिएपछि हावामार्फत एरोसोलबाट फैलिन्छ। यस्तो धुलो साससँगै शरीरभित्र पुगेपछि संक्रमण हुन सक्छ। साथै, दूषित सतह छोएर मुख वा नाकमा हात लगाउँदा पनि जोखिम रहन्छ।
सामान्य अवस्थामा यो भाइरस मानिसबाट मानिसमा सर्दैन। तर दक्षिण अमेरिकामा पाइने एन्डिस स्ट्रेनमा दुर्लभ रूपमा मानिस बाट मानिसमा संक्रमण देखिएको छ। यो भाइरस लागिसकेपछिका शुरुवाती लक्षणहरु भने सामान्य फ्लूजस्तै हुन्छन् । मानिसमा उच्च ज्वरो र जाडो हुने, मांसपेशी दुख्ने, थकान, पेट दुख्ने, बान्ता वा पखाला हुने हुन्छन् । यसको लक्षण देखिएको ४ देखि १० दिनपछि गम्भीर अवस्था हन्ता भाइरस पल्मोनरी सिन्ड्रोम देखा पर्न सक्छ । पल्मोनरी सिन्ड्रोममा फोक्सोमा पानी जम्नु सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु,मिगौलाले काम गर्न छोड्नु आदि हुन् ।
के छ औषधी र उपचार
हालसम्म यसको कुनै विशेष औषधि वा खोप उपलब्ध भएको छैन। उपचार मुख्यतया सपोर्टिभ केयर र अक्सिजन, भेन्टिलेटर नै हो । त्यसैले यसको रोकथामका लागि घरमा मुसा पस्न नदिने, प्वालहरु टाल्ने, खानेकुरा सुरक्षित र छोपेर राख्ने,पुराना वा धुलोयुक्त स्थान सफा गर्दा मास्क र पन्जा प्रयोग गर्ने, मुसाको दिशामा सिधै कुचो नलगाई पहिले कीटनाशक वा ब्लिच छर्कने गर्नुपर्दछ । यी कामहरु गर्दा मास्क स्यानिटाइजरको प्रयोग गर्न छुटाउनुहुदैन ।
यदि तपाई मुसा भएको स्थानमा हुनुहुन्छ र केही समयदेखि ज्वरो शरिर दुख्ने वा सास फेर्न गाहो हुने लक्षण देखिएमा तुरुन्तै चिकित्सकसंग सम्पर्क गर्नुपर्दछ । घरपालुवा जनावर वा अन्य जनावरहरुबाट सिधै यो भाइरस र्सदैन तर तिनीहरुले संक्रमित मुसा घरभित्र ल्याउन सक्छन् वा सम्पर्कमा हुनसक्छ जस्ले जोखिम बढाउने सम्भावना रहन्छ ।




प्रतिक्रिया