प्रदीप अधिकारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, पोखरा विमानस्थलमा साढे ३ अर्ब बिगो दाबी

प्रदीप अधिकारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, पोखरा विमानस्थलमा साढे ३ अर्ब बिगो दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक आर्थिक अनियमितता गरेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहितका कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्राधिकरणमा महानिर्देशक रहँदा यसअघि पनि अन्य भ्रष्टाचारजन्य कार्यमा आरोपपत्र दायर भइसकेका अधिकारीविरुद्ध पोखरा विमानस्थलको प्रकरणमा अर्को मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’सँगको मिलेमतोमा राज्यको अर्बौँ सम्पत्ति हिनामिना गरिएको पुष्टि भएको छ । आयोगले तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी सहितका प्रतिवादीहरूउपर ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबिच भएको मूल खरिद सम्झौतामा कूल ठेक्का रकमभित्रै कर, महसुल र अन्य शुल्कहरू समावेश गरिएको थियो । प्रचलित कानुन बमोजिम ती करहरू ठेकेदार कम्पनीले नै तिर्नुपर्ने स्पष्ट प्रावधान भए तापनि बदनियत राखेर ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’मार्फत कर छुट दिने शर्त राखिएको अख्तियारले जनाएको छ ।

यसरी ठेकेदार कम्पनीले सम्झौता बमोजिमको रकम भुक्तानी पनि लिने र सोही रकममा समावेश भएको कर राज्यकोषमा दाखिला नगरी छुट पाउने गरी दोहोरो लाभ लिएको देखिएको छ । नेपाल सरकारले वैदेशिक ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिको यसरी दुरुपयोग हुँदा राज्यलाई साढे ३ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको आयोगको ठहर छ ।

अख्तियारले उनी समेतमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा चलाएको छ । बिगो बमोजिमको जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा विमानस्थल निर्माणमा सुरुदेखि नै लागत र गुणस्तरलाई लिएर प्रश्न उठ्दै आएकोमा अख्तियारको कदमले ठूलो भ्रष्टाचार भएको तथ्य उजागर गरेको छ ।

यसअघि उनी नलिन्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन बिना नै लागत अनुमान अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको आरोप उनीमाथि छ ।