काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरूविरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाण्डु महानगरपालिका–२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच आईजीपी कार्कीले उनलाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
काठमाण्डु महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाएर लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वानस तथा निर्वाह गरेको नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको छ ।
सो अवसरमा आईजीपी कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनले बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गरेकी थिइन् ।
सञ्जिताले घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सीसीटीभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारूकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसुचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ । उनले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरूद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ ।




प्रतिक्रिया