पश्चिम बङ्गालमा संवैधानिक सङ्कट

पश्चिम बङ्गालमा संवैधानिक सङ्कट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको पश्चिम बङ्गाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक सङ्कट उत्पन्न भएको छ ।

राज्यपाल आरएन रविले पश्चिम बङ्गाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक सङ्कट उत्पन्न भएको हो । राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा १७४(२) (ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै बिहीबारदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको जनाइएको छ ।

विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बेनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको हो ।

चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ । भाजपाले २०७ सिट जित्दा तृणमूल कांग्रेस केवल ८० सिटमा सीमित भएको छ । ममता बेनर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित भएकी हुन् ।

भाजपाका नेताहरूका अनुसार नयाँ सरकारले शनिबार शपथ लिनेछ । यद्यपि ममताले पद नछोड्ने घोषणा गरेपछि संवैधानिक प्रक्रिया र राज्यपालको भूमिकाबारे व्यापक बहस शुरु भएको छ ।

यदि मुख्यमन्त्रीले राजीनामा नदिए संविधानको धारा ३५६ प्रयोग गरी राज्यमा संवैधानिक व्यवस्था भङ्ग भएको भन्दै राष्ट्रपति शासन लागू गर्न सकिने सम्भावना समेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बेनर्जीले भने आफूहरूलाई जनमतबाट नभई षड्यन्त्रपूर्वक हराइएको दाबी गर्दै राजीनामा दिन अस्वीकार गरेकी हुन् । उनले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै परिणामविरुद्ध अदालत जाने संकेत समेत गरेकी छिन् ।

साथै चुनावको नतिजापछि राज्यका विभिन्न भागहरूमा भड्किएको हिंसामा कम्तीमा चार जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएका छन् ।