राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा एआई र डेटा सुरक्षामा सहकार्य गर्ने प्रतिबद्धता

राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा एआई र डेटा सुरक्षामा सहकार्य गर्ने प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जङ्गीअड्डामा आयोजित छैटौँ संस्करणको १ दिवसीय ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३’ बुधबार सम्पन्न भएको छ ।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विशेष समारोहबिच गोष्ठीको समापन गरे ।

वर्तमान विश्वमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दै गएका साइबर चुनौती, डेटा चुहावट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सेनाले गोष्ठी आयोजना गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षामा संलग्न सबै सरोकारवाला निकायहरूबिच प्रभावकारी सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउनु रहेको थियो ।

गोष्ठीका क्रममा साइबर सुरक्षा क्षेत्रका विषय विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरूबिच विभिन्न प्राविधिक चुनौती र सम्भावित सुरक्षा जोखिमका परिस्थितिलाई लिएर सघन अन्तरक्रिया समेत भएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरूका साथै साइबर सुरक्षासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका विज्ञहरूको सहभागिता रहेको थियो ।

गोष्ठीले राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा निर्माण गर्न र मुलुकको समग्र डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । पछिल्लो समय सरकारी वेबसाइट र डेटा प्रणालीमाथि हुन सक्ने आक्रमणलाई रोक्न यस्ता प्राविधिक विमर्शहरू फलदायी हुने सहभागीहरूले बताएका छन् ।