रसुवा – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबिच सम्झौता भएको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबिच साझेदारी सम्झौता भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा रेडक्रसको रसुवा जिल्ला शाखाका कार्यवाहक सभापति देकीछोमो तामाङ र गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार रेडक्रस र गाउँपालिकाको समन्वयमा बाढी प्रभावित परिवारलाई तत्काल नगद सहायता उपलब्ध गराउनुका साथै अन्य मानवीय सहायता र प्रतिकार्यका कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले प्राप्त सहयोग पारदर्शी र व्यवस्थित रूपमा वास्तविक पीडितसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया