सभामुख अर्यालसँग स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेटवार्ता

सभामुख अर्यालसँग स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा रहेका स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार बिदाइ भेट दिएका छन् ।

गत कात्तिक १६ गते सभामुख अर्यालको निमन्त्रणामा ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका अध्यक्ष पेजसँगको भेटमा सभामुख अर्यालले भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाल र स्वीट्जरल्यान्डबिचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले उच्चस्तरीय भ्रमणले नेपाल–स्वीट्जरल्यान्ड सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, आर्थिक सहकार्य, सङ्घीय शासन प्रणालीको सुदृढीकरण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्ने विषयमा २ देशबिच सहकार्यका थप अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष पेजले नेपाल भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै भ्रमणका क्रममा प्राप्त आत्मीय स्वागत, आतिथ्यता र विभिन्न भेटघाट तथा अवलोकनबाट आफूहरू प्रभावित भएको बताए । भ्रमणले नेपाल र स्वीट्जरल्यान्डबिचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय सहकार्यलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने उनको विश्वास थियो ।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गरेका थिए । यस्तै पाटन संग्रहालयमा आयोजित ‘हाफ–वे बिट्विन अर्थ एन्ड स्काई : इन द फुटस्टेप्स अफ एला मेलार्ट’ शीर्षकको फोटो प्रदर्शनीको सम्माननीय सभामुख अर्याल र राष्ट्रिय परिषद्का अध्यक्ष पेजले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रतिनिधिमण्डलले नेपाल–स्वीट्जरल्यान्ड संसदीय मैत्री समूहका सदस्यहरू तथा सङ्घीय संसद्का दुवै सदनका ५ वटा विषयगत समितिका सभापतिहरूसँग पनि छलफल गरेको थियो । यसै क्रममा सभामुख अर्यालले स्विस प्रतिनिधिमण्डलको सम्मानमा विदाई दिवाभोजको आयोजना गरेका थिए ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकाका ऐतिहासिक तथा धार्मिक सम्पदास्थल बौद्धनाथ र पाटन दरबार क्षेत्रको अवलोकन गरेको थियो । हालै त्रिशूली (भोटेकोशी) नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका क्षेत्रको समेत अवलोकन गरेको थियो।

नेपाल र स्वीट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा भएको भ्रमणलाई द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यसअघि सन् २०१० अक्टोबर ३१ देखि नोभेम्बर ५ सम्म स्वीट्जरल्यान्डको राष्ट्रिय परिषद्का तत्कालीन अध्यक्षको नेतृत्वमा नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको थियो।

नेपालको औपचारिक भ्रमण सम्पन्न गरी स्विस प्रतिनिधिमण्डल शनिबार साँझ ७:०५ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४५ बाट स्वदेश फर्किने कार्यक्रम छ।