कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् ।

संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचांकहरूलाई सुधार गर्न संघीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।’ संघीय सरकारका मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्ने र यहाँको वास्तविकताबारे अवगत भएकाले यस विषयमा विशेष चासो मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् ।

त्यसैगरी हालैका वर्षहरूमा ठूलो चुनौतीका रूपमा देखापरेको किशोर–किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराइन् । भेटघाटमा मन्त्री बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताइन् । उनले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेकोसमेत जानकारी गराइन् ।

सोही भेटघाटमा प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको जनाउँदै संघीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरूरी रहेको बताए । उनले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राखेका छन् ।